२०८३ बैशाख ५ गते , शनिबार

विश्वकप छनोट : आज नेपाल जिम्बाब्बेसँग खेल्दै

sajilo news
एजेन्सी
२०८० असार ३ गते , आईतबार
विश्वकप छनोट : आज नेपाल जिम्बाब्बेसँग खेल्दै

आईसीसी एकदिवसीय विश्वकप छनोट आज जिम्बाब्वेमा सुरु हुँदैछ।  नेपालले घरेलु टोलीसँग खेल्दै आफ्नो यात्रा सुरु गर्दैछ। समूह ए मा रहेका नेपाल र जिम्बाब्वेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार पौने एक बजे सुरु हुनेछ। 

टेस्ट मान्यता प्राप्त राष्ट्रसँग नेपालले ओडीआई खेल्न लागेको यो पहिलो पटक हो । नेपालले अहिलेसम्म खेलेका ५१ ओडीआई सबै एसोसिएट राष्ट्रविरुद्ध हुन्।

नेपाल विश्व क्रिकेट लिग टूको शीर्ष तीनमा रहँदै सिधै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको थियो। जिम्बाब्वे सुपर लिगबाट झरेको हो। छनोटको तयारी स्वरुप नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुई अभ्यास खेल खेलेको थियो। खराब ब्याटिङ गरेको नेपाल दुवैमा पराजित भयो। 

प्रतियोगितापूर्वको अन्तिम वार्मअपमा भने नेपालले ओमानलाई २ विकेटले पराजित गर्दा कुशल भुर्तेलले शतक प्रहार गरेका थिए। पहिलो वार्मअपमा भने नेपाल यूएईसँग हारेको थियो।

\कप्तान रोहित पौडेलले यो प्रतियोगिताका लागि टिमले लामो समयदेखि मेहनत गरेको बताएका छन्। जिम्बाब्वेका कप्तान क्रेग अर्भिनले ग्लोबल छनोटका लागि टिमको तयारी उत्कृष्ट रहेको प्रतिक्रिया दिए।

नेपाल र जिम्बाब्वे ५० ओभरको खेलमा यसअघि २०१८ मा आमने सामने भएका थिए। जसमा जिम्बाब्वे १ सय १६ रनले विजयी भएको थियो। ३ सय ८१ रनको लक्ष्य पछ्याएको नेपालका लागि आरिफ शेखले ५०, रोहितले ३० र ज्ञानेन्द्र मल्लले ३२ रन बनाएका थिए । यी तीनै खेलाडी अहिले टिममा समावेश छन्। आजै हुने समूह ए को अर्को खेलमा वेस्टइन्डिज र अमेरिका आमने सामने हुनेछन्।

नेदरल्यान्ड्स पनि यसै समूहमा छ। समूह बी मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्‍का र यूएई छन्। दुवै समूहका शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन्। त्यसबाट दुई टिमले आगामी अक्टोबरमा भारतमा हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछन्। विश्व कप खेल्ने आठ टिमको यसअघिनै टुंगो लागिसकेको छ।

सम्बन्धित समाचार