असोजमा झापा सम्मेलन गर्ने काँग्रेसको निर्णय
बिर्तामोड । नेपाली काँग्रेस झापाले आगामी भदौ २० गतेसम्ममा तहगत सम्मेलन सकेर आगामी असोजमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबेको सभापतित्वमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले साउनको १५ गतेदेखि २२ गतेसम्म वडा सम्मेलन, साउन २३ देखि ३२ गतेसम्ममा गाउँ नगर सम्मेलन, भदौ १ गतेदेखि १० गतेसम्म प्रदेशसभा क्षेत्रीय सम्मेलन र भदौ ११ गतेदेखि २० गतेसम्ममा संसदीय निर्वाचन क्षेत्रको क्षेत्रीय सम्मेलन गर्ने निर्णय गरेको हो ।
वडा सम्मेलनमा वडा कार्य समिति, जिल्लाले तोकेका प्रतिनिधि, सबै क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, वडामा रहेका भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि, पार्टीको माथिल्लो इकाई समितिका पदाधिकारी/सदस्यहरू, जनप्रतिनिधिहरू सहभागी हुनेछन् ।
गाउँ÷नगर, प्रदेश सभा र क्षेत्रीय सम्मेलनमा क्षेत्रीय प्रतिनिधि, सम्बन्धित समितिका पदाधिकारी÷सदस्य, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, माथिल्लो इकाई समितिका पदाधिकारी/सदस्यहरू एवं जनप्रतिनिधिहरू सहभागी हुनेछन् ।
वडामा खटिएका जिल्ला प्रतिनिधिहरूले सम्बन्धित वडा र पालिका सभापतिसँग समन्वय गरेर वडा सम्मेलन सम्पन्न गर्ने, सामाजिक सञ्जाललाई पार्टी, देश र जनहितमा सदुपयोग गर्न, अनावश्यक विषयमा टीकाटिप्पणी गरेर विवादमा नफस्न पनि जिल्ला कार्य समितिको बैठकले पार्टीको सबै तहका पदाधिकारी÷सदस्यहरूलाई आग्रह गरेको छ ।
बैठकमा सभापति देउकुमार थेबे, उपसभापति शेरबहादुर भट्टराई र केशवराज पाण्डेले सदस्यहरूले राखेको जिज्ञासाको जवाफ दिएका थिए भने जिल्ला सदस्य राम कट्टेलले एकताबद्ध ढंगले पार्टीका निर्णयहरूलाई कार्यान्वयनमा लैजानुपर्ने धारणा राखेका थिए । बैठकको सहजीकरण सचिव कृष्ण हुमागाईँले गरेका थिए ।