अनेरास्ववियु झापाको अधिवेशन स्थगित, सहमतिबाट नेतृत्व टुंग्याउने
बिर्तामोड । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले झापामा नेतृत्व चयन नगरी अधिवेशन स्थगित गरेको छ । प्रतिनिधिहरुको अनुमतिमा अधिवेशन स्थगित गरिएको छ । रातभरीमा नेतृत्व चयन गर्ने कि घर जाने भन्ने प्रस्तावमा प्रतिनिधिहरुले घर जाने भनेपछि सोमवार अवेर अधिवेशन स्थगित गरिएको हो ।
बिर्तामोडको साइ प्यालेसमा आयोजित अनेरास्ववियुको अधिवेशनका गर्न एक दिका लागि सभाहल भाडामा लिइएको थियो । एकैदिनमा सक्ने गरी आयोजना गरिएको अधिवेशनलाई अध्यक्ष मण्डलले स्थगित गरेको छ ।
उद्घाटन सत्र सकेर बन्द सत्र सुरु गरेको अध्यक्ष मण्डलले उम्मेदवारी दर्ताको काम सकेको जनाएको छ । अध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा नारायण पोखरेल, बलराम गिरी र लक्ष्मी गौलीले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, उपाध्यक्षमा अरुण तिम्सिना, विदान राई, अनुजा कट्टेल र अनुप भण्डारीले मनोनयन दर्ता गरेका छन् । सचिवमा बालचन्द्र कार्की, सरोज ढकाल र सन्तोष धमलाले उम्मेदवारी दर्ता गरेको बुझिएको छ ।
यस्तै, सहसचिवमा मदन ओली, प्रदीप बर्देवा, इश्वर नेपाल, विनिता न्यौपाने, पूर्ण बहादुर राना, चिरन्जिवी खतिवडा र रविन गुप्ताले मनोनयन दर्ता गरेका छन् । कोषाध्यक्षमा सलिना गुरुङ, रचना अधिकारी र मञ्जु रिजालले उम्मेदवारी दर्ता गरेका छन् ।
पार्टी र विद्यार्थी नेतृत्व सहमतिमा नेतृत्व टुंगो लगाउने पक्षमा देखिएको छ । अधिवेशन स्थगित भएपछि कति समयमा नेतृत्व चयनको काम सकिने हो भन्नेमा विद्यार्थी चिन्तित बनेका छन् । अध्यक्ष मण्डलले विद्यार्थी नेतृत्व चयनको प्रक्रिया आजभोली भित्रै सक्ने दावी गरेको छ ।
अध्यक्षका मुख्य दुई उम्मेदवार पोखरेल र गिरी आफ्नो नेतृत्व हुनुपर्ने बलियो दावी गरिरहेका छन् । उनीहरु बीचमा सहमति खोज्ने प्रयास जारी रहेको बुझिएको छ । दुई जनामा सहमति हुन नसके नेतृत्वले कडा कदम चाल्न सक्ने संभावना बढेर गएको छ ।