काँतातर्फ बाग्मतीको बर्चस्व
बिर्तामोड । प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगितामा काँतातर्फ बाग्मतीका आयुश दराई र प्रजिशा श्रेष्ठ च्याम्पियन बनेका छन् ।शनिवारदेखि झापाको बिर्तामोडमा शुरु भएको मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिताको पहिलो दिन काँतातर्फको इभेन्टमात्र सम्पन्न भएको छ । १२० जना खेलाडी सहभागी प्रतियोगितामा क्वाटरफाइनलको खेल शनिवार भएको थियो ।
काँतातर्फ पुरुषमा लुम्बिनीका रवीन्द्र सुनार दोस्रो, सुदूर पश्चिमका रोहित तामाङ तेस्रो भएका छन् । महिलातर्फ कोशी प्रदेशकी करुण राई दोस्रो, मधेस प्रदेशका सबिना दियाली तेस्रो भएकी छन् । प्रतियोगितामा विजेताले क्रमशः मेडलसहित १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । पुरुषतर्फ ८ र महिलातर्फ ७ वटा इभेन्टमा प्रतियोगिता भइरहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभाका सभामुख देशराज घिमिरेले राजनीतिक खेलका कारण नेपाली खेल क्षेत्र ओझेलमा परेको टिप्पणी गरे । घिमिरेले प्रतिनिधिसभाबाट नेपालको खेल क्षेत्रलाई आवश्यक पर्ने सबै खालको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । जननेता मदन भण्डारीको हत्या भएको पनि तीस वर्ष बितिसकेको अवस्थामा उनको हत्यापछि जन्मेका युवा वर्गलाई मदन भण्डारीबारे चिनाउने अवस्था मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको उनले बताए ।
प्रतियोगिता आइतबार समापन हुने आयोजक कमिटीका उपाध्यक्ष तुलसी मैनालीले जानकारी दिए । प्रतियोगितामा आयोजकको एकसहित देशका ७ वटै प्रदेशका खेलाडीहरू सहभागी रहेका छन् ।