२०८३ बैशाख ५ गते , शनिबार

मेची रंगशालामा युवा फुटबल प्रशिक्षण, खेलाडी छनोटका खेल सम्पन्न

sajilo news
झापा
२०८० बैशाख २३ गते , शनिबार
मेची रंगशालामा युवा फुटबल प्रशिक्षण, खेलाडी छनोटका खेल सम्पन्न

भद्रपुर । भद्रपुर झापा गोल्डकपको आयोजनामा शनिवार मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १६ देखि १९ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेलहरू भएको छ ।

फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको अपार सफलतापछि भद्रपुरमा ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’लाई सार्थकता प्रदान गर्ने क्रममा मेची रंगशालामा छनोटका खेलहरू भएका हुन् ।

यसअघि अघिल्लो शनिवार १४ देखि १६ वर्ष उमेर समूहका खेलाडी छनोटका खेलहरू भएका थिए । ती खेलहरूबाट पहिलो चरणमा ५३ जना खेलाडी छनोट भइसकेका छन् ।

आजका खेलहरूमा भद्रपुरका सबै वडाबाट आएका करिब एक सय खेलाडीको सहभागितामा प्रतिस्पर्धा गराइएकोमा पहिलो चरणमा ६३ जना खेलाडी छनोटमा परेको आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।

अब दुवै उमेर समूहबाट पहिलो चरणमा छनोटमा परेका खेलाडीबीच आगामी शनिवार खेलहरू पुनः प्रतिस्पर्धा गराई तीमध्ये अब्बल २५ जना खेलाडी छनोट गरी उनीहरूलाई नियमित प्रशिक्षण दिइनेछ ।

नगरभित्र कुना–कुनामा रहेका तर अवसर नपाइरहेका युवालाई अवसर प्रदान गर्ने र भद्रपुर झापा गोल्डकपको सशक्त आयोजक टिम तयार गर्ने उद्देश्यले कार्यसमितिको बैठकले नै ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । गोल्डकपका  अध्यक्ष ढकालले अहिले छनोटमा परेका खेलाडी भद्रपुरको अब्बल टिम तयार गर्ने उद्देश्यले गरिएको बताउँदै समय दिन सक्ने खेलाडी मात्र सहभागी हुन र अभिभावकले पनि आफ्ना नानीहरूलाई फुटबलमै समर्पित गाउन मनसायका साथ प्रशिक्षणमा पठाउन आग्रह गरेका छन् ।

यस्तै, भद्रपुर झापा गोल्डकपले आगामी मङ्सिर–पुसतिर झापा जिल्ला स्तरीय अन्तर पालिका लिग कम नकआउट प्रतियोगिताको तयारी पनि गरिरहेको महासचिव जीवनकुमार श्रेष्ठले बताए । कार्यसमितिको बैठकले निर्णय गरेको लिग कम नकआउट फुटबल प्रतियोगिता बारे जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गरी टिम तयार गर्न आग्रह गरिएको पनि उनले बताए । 

 

सम्बन्धित समाचार