२०८३ बैशाख ५ गते , शनिबार

गाईघाट प्रदेश स्तरीय महिला गोल्डकपको सेमिफाइनलमा 

sajilo news
झापा
२०८० बैशाख १२ गते , मंगलबार
गाईघाट प्रदेश स्तरीय महिला गोल्डकपको सेमिफाइनलमा 

गाईघाट फुटबल क्लब उदयपुर झापामा जारी प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा धनकुटा फुटबल संघलाई १–० गोल अन्तरले पराजित गदै उदयपुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा एक मात्रै गोल उदयपुरकी मनिता तामाङले गरिन । उनले खेलको ४५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 

प्रतिस्पर्धात्मक भएको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । पहिलो हाफमा धनकुटाले उदयपुर विरुद्ध दबाब सिर्जना गरे पनि गोल स्कोर भने गर्न सकेन । दोस्रो हाफको सुरुवाती चरणमा भने उदयपुरले धनकुटामाथि दबाब सिर्जना गर्‍यो । 

१–० गोल अन्तरलेपछि परेको धनकुटाले दोस्रो हाफको अन्त्य तिर गोल गर्ने थुर्पै अवस्था सिर्जना गरे पनि स्कोर भने गर्न सकेन । आजको खेलमा उदयपुरकी मनिता तामाङ ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाइन् । यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । 

उदयपुरले अब दोस्रो सेमिफाइनलमा बिहीबार नमोबुद्ध युवा क्लब सप्तरीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ । प्रतियोगितामा भोलि बुधवारबाट सेमिफाइनलका खेलहरू सुरु हुने छ । पहिलो सेमिफाइनलमा आयोजक अल इन वान र मिक्लाजुङ गाउँपालिका मोरङले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ । 

प्रतियोगिताको फाइनल खेल बैशाख १६ गते हुने छ । प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिताका संयोजक कृष्णबाबु योञ्जनले जानकारी दिए। बिर्तामोड–१०को ‘अल इन वान’ क्लबको आयोजनामा जारी प्रतियोगितामा झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।

सम्बन्धित समाचार