नमोबुद्ध सप्तरी प्रदेश स्तरीय महिला गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड । ताप्लेजुङ महिला फुटबल क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध युवा क्लब सप्तरी झापामा जारी प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड–१० सैनिक बजार स्थित महेन्द्र ज्योति माविको मैदानमा भएको निर्धारित ६० मिनेटको खेलको पहिलो हाफमा सप्तरीले २–० को अग्रता कायम गरेको थियो ।
उसका लागि खेल सुरु भएको ७ औं मिनेटमा रजनी ठोकरले पहिलो गोल गरिन् । १२ औं मिनेटमा संगिता सुनारले सप्तरीका लागि दोस्रो गोल गरेकी थिइन् ।
दोस्रो हाफको ३७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै ताप्लेजुङले एक गोल फर्काएको थियो । उसका लागि संगिता गुरुङले गरेको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो ।
त्यसपछि २–१ गोल अन्तरले पछि परेको ताप्लेजुङले खेलको ३९ औं, ४२ औं र ४३ औं मिनेटमा थप तिन खायो । सप्तरीका लागि क्रमशः ईसा मगर, रजनी ठोकर र संगिता सुनारले गोल गरेकी थिइन् ।
त्यसपछि ५–१ गोल अन्तरले पछि परेको ताप्लेजुङले खेलको अन्त्य तिर सुधारिएको प्रदर्शन गरेको थियो । उसले सप्तरी विरुद्ध थप दुई गोल फर्कायो । ताप्लेजुङका लागि ५० औं र ५६ औं मिनेटमा सुजता पालुङवाले दुई गोल गरेकी थिइन् । थप गोल गर्न नसक्दा ५–३ गोल अन्तरको पराजय भोग्दै ताप्लेजुङ प्रतियोगिताबाट बाहिरियो ।
आजको खेलमा सप्तरीकी रजनी ठोकर ‘प्लेयर्स अफ द म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाइन् । उनलाई बिर्तामोड–१०का वडाअध्यक्ष दुर्योधन गुरुङ र आयोजक ‘अल इन वान’ क्लबका अध्यक्ष कृष्णबाबु योञ्जनले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा मङ्गलवार गाईघाट फुटबल क्लब उदयपुर र धनकुटा फुटबल संघबिच अन्तिम क्वाटरफाइनल खेलमा प्रतिस्पर्धा हुनेछ ।१६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने छ ।बिर्तामोड–१० को ‘अल इन वान’ क्लबको आयोजनामा जारी प्रतियोगितामा झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।