भद्रपुरमा प्रथम झापाचोक कृषि तथा साङ्गीतिक महोत्सव सुरु

भद्रपुरमा प्रथम झापाचोक कृषि तथा साङ्गीतिक महोत्सव सुरु भएको छ । एम्बुलेन्स खरिद गर्ने उद्देश्य लिएर भद्रपुर– २ स्थित सगरमाथा फाउन्डेसनले आयोजना गरेको महोत्सवको उद्घाटन नगरपालिकाकी उपप्रमुख राधा कार्कीले गरेकी थिइन् ।
केक काटेर र बेलुन उडाएर महोत्सव उद्घाटन गर्दै उपप्रमुख कार्कीले भनिन्, महोत्सवलाई सभ्य र भव्य रुपमा सफल बनाउनुहोस्, नगरपालिकाको साथ सहयोग रहन्छ । फाउन्डेसनका अध्यक्ष विशाल तामाङको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा भद्रपुर ४ नम्बर वडा अध्यक्ष हंशधर राजवंशी लगायतले मन्तव्य राखेको कार्यक्रममा फाउन्डेसनका सचिव रवीन्द्र आले मगरले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कला राईले गरेकी थिइन् ।
सामाजिक संस्थाको रुपमा परिचित फाउन्डेसनले अहिलेसम्म बाढीपीडितलाई राहत वितरण, मिर्गौला पीडित, असहाय तथा गरिब समुदायको बिरामीको उपचारमा सहयोग रकम जुटाउँदै आएको छ । ‘गाउँमा एम्बुलेन्स छैन, एम्बुलेन्स खरिदका लागि महोत्सवको आयोजना गरिएको अध्यक्ष तामाङले बताए ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । नेपालकै ठुलो र अग्लो रोटेपिङ्, नाउ, ड्रागन, चिल्ड्रेनपार्क, हाउजी जस्ता रमाइलो खेलहरू रहने छन् भने कलाकारहरू एलिना चौहान, प्रमोद खरेल, बलबहादुर राजवंशी, अस्मिता अधिकारी, प्रीति आले, सुगम पोख्रेल, प्रकाश सपुत, विशाल भण्डारी, ज्योति मगर, जी बब जस्ता कलाकारको बेजोड प्रस्तुति रहने रिकोभरिङ टिमकाका सागर पौडेलले जानकारी दिए ।
महोत्सवमा २० वटा व्यापारको लागि स्टल रहनेछन् भने कृषि उत्पादन तथा प्रवर्धनको लागि सहुलियतमा स्टल उपलब्ध गराउने र उत्कृष्ट कृषकलाई हौसला स्वरूप पुरस्कृत गरिने जनाइएको छ ।