२०८३ बैशाख २४ गते , विहीबार
स्रोत नखुलेको १ लाख ८३ हजार भारतीय रुपैयाँसहित तीनजना पक्राउ
विराटनगर महानगरपालिका -९ स्थित चुलाचुली मार्गमा स्रोत नखुलेको भारतीय रकमसहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो सोमबार अपराह्न ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले मोरङ जहदा गाउँपालिका -७ का २६ वर्षीय रमेश कुमार मण्डल, २२ वर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका ३ का ३० वर्षीय नबि हुसेनलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरूको साथबाट १ लाख ८३ हजार ७५० भारतीय रुपैयाँ फेला परेको थियो । पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।