२०८२ बैशाख ५ गते , शुक्रबार

हस्तकलामा भद्रपुरका निर्मल, ६५ हजारमै हात्ती

sajilo news
झापा
२०७९ फाल्गुन १५ गते , सोमबार
हस्तकलामा भद्रपुरका निर्मल, ६५ हजारमै हात्ती

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवमा राखिएका स्टल मध्ये भद्रपुर – ८ का निर्मल शाक्यको हस्तकलाको स्टलले धेरैको मन खिचेको छ । नखिचोस् पनि किन – खेर जाने बाँसका जराबाट शाक्यले कलात्मक बुट्टा भर्दै चराचुरुङ्गीदेखि विभिन्न देवी देवताको दुरुस्तै आकृति उतारेका छन् । बाँसका जराबाट निर्मित सामग्रीमा दतार हात्तीको दाह्रादेखि बाज र डल्फिनसम्म दुरुस्तै छन् । महोत्सवमा राखिएका बाँसको जराको कलाकृति देख्ने जो कोहीको पहिलो वाक्य सुनिन्छ आहा १ कति राम्रो । 
महोत्सव अवलोकनका लागि आएकी पवित्रा लिम्बूले आफूले पहिलो पटक बाँसको जराबाट तयार पारिएको यस्तो सामग्री देखेको बताइन । उनले भनिन् – ‘हामी त बाँसका जरा बाल्थ्यौँ तर यस्ता राम्रा सामग्री बन्दा रहेछ ।’  
बाँसका जराबाट बनाइएका सामग्री हेर्दै लिम्बूले प्रफुल्लित हुँदै भनिन्– जान्नेलाई श्रीखण्ड त्यसै भनेको होइन रहेछ । खेर जाने जराको काम कति धेरै हुँदो रहेछ आज प्रत्यक्ष देखियो ।’
त्यसो त लिम्बू मात्र होइन महोत्सवमा सहभागी भएका मध्ये धेरैले बाँसका जराबाट बनाइएका सामग्रीको प्रशंसा मात्रै गरेनन् उनीहरूले महोत्सवको चिनो स्वरूप इच्छाएका सामग्री खरिद नै गरे । 
शाक्यले बाँसको जराबाट मात्र होइन काठको प्रयोग गर्दै विभिन्न बस्तुको आकृति दुरुस्तै उतारेर महोत्सव स्थलमा राखेका छन् । राखिएका बस्तु मध्ये हात्ती धेरैको रोजाइमा छ । हात्ती धेरैको रोजाइमा परे पनि स– साना बस्तुले पनि महोत्सव अवलोकनका लागि आउनेहरूको मन खिचेको छ । कतिपयले कछुवा, डल्फिन, माछा जस्ता हस्ताकलाका सामग्री लिएर जाने गरेका छन् भने कतिपयले  बाज, गणेश, बाँदर जस्ता हस्तकलाका सामग्री लाने गरेका छन् । बाँसको जरा सहित निम, टिक, गमारी, खमारीको काठ प्रयोग गर्दै शाक्यले बनाएका हस्तकलाका सामग्रीले धेरैको मन लोभ्याएको कनकाई नगरपालिका ८ निवासी शिशिर भट्टराईले बताए । उनले भने – बाँसको जराबाट बनाएका सामग्री जति हे¥यो उति राम्रा देखिन्छन् । 
शाक्यले स्टलमा राखेका हस्तकलाका सामग्रीको न्यूनतम मूल्य एक हजार चार यस देखि ६५ हजार रुपैयाँसम्मका छन् । एक हजार ४ सय रुपैयाँमा कछुवा खरिद गर्न सकिन्छ भने ६५ हजार रुपैयाँमा हात्ती नै खरिद गर्न सकिने शाक्यले बताए। 
त्यसो त शाक्यले बाँसको चोया प्रयोग गर्दै घडी समेत तयार गर्छन भने गहुँको नल र सुपारीको पातबाट समेत घडी बनाउने गरेको उनले बताए । तर, घडी खासै बिक्री नभएपछि आफू बाँसको जरामा भविष्य खोज्न लागेको शाक्यले बताए । 
विगतका वर्षमा वैदेशिक रोजगारको समेत अनुभव सँगाल्नु भएका उनले त्यहाँ गरेको दुःख सम्झिएर अहिले आफ्नै देशमा हस्तकलाको प्रवर्द्धनमा लागेका छन् । उनले उत्पादन गरेका हस्ताकलाका सामग्री अहिले झापा सहित देशभर पुग्ने गरेका छन् । अझ उनले उत्पादन गरेको सामग्रीको माग विदेशमा उच्च रहेको शाक्यले बताए । 
विगत १८ वर्षदेखि हस्तकला क्षेत्रमा लाग्नु भएको शाक्य वैदेशिक रोजगारीका लागि दुबई समेत पुगे । तर, विदेशमा उनी रमाउन सकेनन् । आफ्नै देशको माया र हस्ताकलाले उनलाई स्वदेश फर्कायो । विदेशबाट फर्किएपछि  हस्तकलालाई व्यावसायिकता दिएका भएका शाक्य त्यसपछि उनी विदेश कामका लागि होइन त्यहाँ आयोजना गरिने अन्तर्राष्ट्रिय टे«डफियरमा नेपालको प्रतिनिधित्व गर्दै जाने पत्रका रुपमा आफूलाई स्थापित गरे । 
त्यसपछि उनले  विदेशमा आयोजना गरिने अन्तर्राष्ट्रिय कल प्रदर्शनीमा नेपालको प्रतिनिधित्व गर्दै आफूले बनाएको कलाकृति  विश्वसामु पु¥याउँदै नेपाललाई चिनाउने काम गर्दै आएका छन् । पछिल्लो समय आफूलाई जापानले हस्तकला प्रदर्शनीमा आफूलाई बोलाएको उनको भनाई छ ।  
हस्तकला प्रदर्शनीकै लागि उहाँ चीन, दुबई , भारको देशरादुन, बङ्गलादेश, अफ्रिका जस्ता देशमा पुग्नु भएको छ भने फ्रान्स, लन्डन, हंकङ्ग, जापानले समेत आमन्त्रण गरिरहेको शाक्यले बताए । 
आफूले तयार पारेका हस्तकलाका सामग्री अधिकांश धनाढ्यको घरमा सजावटका रुपमा प्रयोग हुँदै आएको उनको भनाई छ । मैले बनाएका सजावटका सामग्री तत्कालीन राष्ट्रपति डा. रामवरण यादवदेखि वडा सदस्यसम्मको घरमा देख्न सकिन्छ । धेरै सामग्री सरकारका उच्च पदस्थ व्यक्तिको घरमा मायाको चिनो स्वरूप पुग्ने गरेको शाक्यले बताए । 
मैले बनाएका हस्ताकलाका सामग्री नेपालका कुन मन्त्रीको घरमा छैन होला । तर, यो सामग्री कहाँ र कसले बनायो उहाँहरूलाई थाहा नहुन सक्छ उनले भने – ‘मेची क्याम्पसको स्वर्ण महोत्सवमा मैले बनाएको हस्तकलाको सामग्री तत्कालीन राष्ट्रपति डा. रामवरण यादवलाई प्रदान गरिएको थियो ।’ 
मैले बनाएका हजारौँ हजार हस्तकलाका सामग्री राष्ट्रप्रमुखदेखि सर्वसाधारणको घरमा कुनै न कुनै माध्यमले पुगेका छन् तर त्यो सामग्री बनाउने मान्छे को हो भनेर उहाँहरूले मलाई चिन्नु हुन्न शाक्यले भने ।  
विशेष गरी झापाका सबैजसो सरकारी कार्यालयमा आयोजना हुने कार्यक्रममा म नै मायाको चिनो दिन्छु उनले भने – खेर गएका बाँसका जरालाई म पैसामा रूपान्तरण गर्छु । कतिपय संघ संस्थाले महिनौँ अघिदेखि अडर दिएर त्यस्ता हस्ताकलाका सामग्री बनाउन लगाउँछन् । आफूले नभ्याएपछि अहिले कालिगड समेत राखेको छु । 
शाक्यले अहिले तीन जना कालिगडलाई रोजगार समेत दिएका छन् । आफूले मात्रै धान्न नसकेपछि कालिगड राखेको उनको भनाई छ । हस्तकला क्षेत्रमा उनलाई श्रीमती गीताको उत्तिकै साथ छ । देशका विभिन्न स्थानमा आयोजना हुने प्रदर्शनीमा श्रीमतीका साथ आफू जाने गरेको उनले बताए । 
भर्खरै विराटनगरमा आयोजना गरिएको विराट इन्फोमा सरकारका उच्च पदस्थ सबै मन्त्रीदेखि कर्मचारीसम्मले मेरो सिप र कलाको प्रशंसा गरे शाक्यले भने–  तत्कालीन उपसभामुख डा शिवमाया तुम्वाम्फो त मेरो फ्यान नै बन्नु भएको छ ।  
घरेलु तथा साना उद्योग कार्यालय झापामा शाक्य हस्तकला केन्द्र दर्ता गर्दै व्यावसायिक रुपमा आफूले हस्तकलाका सामग्री उत्पादन गर्दै आएको र यसैले आफूलाई विश्वसामु चिनाएको भन्दै उनले आफ्नो पेसाप्रति गर्व गर्छन। तर, स्थानीय स्तरमा यस खाले पेसाको कदर नहुँदा कहिलेकाहीँ मन खिन्न हुने गरेको उनको अनुभव समेत छ । 
सुरुमा बाँसका जरा खोज्न र खन्न जाँदा धेरेले धेरै थोक भन्ने गरेका थिए अहिले उनीहरू मलाई देख्दा लज्जा बोध गर्छन्  उनले भने – उहाँहरूले मलाई नगिज्याएको भए म हस्तकलाका क्षेत्रमा यति पोख्त हुने थिइन होला । तर मलाई इश्र्याले आज यो ठाउँमा पु¥यायो । 
कोभिडका कारण लकडाउन हुनुभन्दा अघिसम्म मासिक लाख रुपैयाँसम्म आम्दानी लिने गरेको थिए शाक्यले भने – अहिले मेरो मात्रै होइन कसैको पनि राम्रो आयस्रोत छैन । अझ त्यसमा त मेरो त व्यवसाय भनेको हुँदा र रहर लाग्दा मात्रै उपयोग गर्ने खालको छ । 
देश तथा विदेशमा मेरो कला कैशलको खोजी हुन थालेपछि अहिले बिस्तारै नेपालमा चर्चा सुरु भएको छ शाक्यले भने – सुरुमा विश्वले चिन्यो, पछि राजधानी अनि अहिले मात्रै मलाई गाउँले चिन्दै छ । अहिले हरेक पालिकामा मेरो खोजी हुन्छ । अस्ति मात्रै कचनकवल गाउँपालिकाले अढाई लाखको हस्तकलाका सामग्री  खरिद गरिदियो । 
हुन न मेरो कला कैशल देखेर घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला वन कार्यालय , भद्रपुर नगरपालिकाले पछिल्लो समय सहयोग उपलब्ध गराउन सुरु गरेका छन् । जिल्ला बन कार्यालयले काठ र जरा सहयोग उपलब्ध गराएको छ भने नगद ७० हजार रुपैयाँ प्रदान गर्दै सम्मान समेत गरेको छ । त्यस्तै भद्रपुर नगरपालिका र घरेलु कार्यालयले पनि अहिले छिटपुट सहयोग उपलब्ध गराउँदै आएको छ । घरेलु कार्यालयले यो स्टल निःशुल्क उपलब्ध गराएको हो शाक्यले भने । 
आफूलाई हस्ताकलाका क्षेत्रमा निरन्तर लागि रहन प्रेरणा दिने व्यक्तिलाई भुल्न नसक्ने बताउँदै शाक्यले भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, मनोज सुब्बा, लक्ष्मण कार्की, जिल्ला बन कार्यालयका पूर्व डिएफो मास्के, कर्मचारी देविन्द्र उप्रेती लगायतलाई सम्झिए ।
उच्च शिक्षा हासिल गरेर रोजगारीका लागि भौँतारिने र पैसा कमाउन वैदेशिक रोजगारीमा जानै पर्छ भन्ने मान्यता बोकेका युवालाई यही गरे मनग्य आम्दानी गर्न सकिने सन्देश प्रवाह गरेका शाक्यले युवालाई स्वदेशमा नै सिप सिकेर आफूले उत्पादन गरेका सामग्री विदेश निर्यात गर्न आग्रह गरे ।  ‘पैसा जताततै छ तर हामीले त्यसलाई खोज्न जान्दैनौ’ शाक्यले भने – म आफैँ काम खोज्दै विदेश गएको थिए । तर, पैसा त यही रहेछ । 
पहिलो पटक बकुल्लो बनाएर हस्तकलाको काम सिकेको थिए विगत सम्झँदै शाक्यले भने – अहिले त युटुव हेरेर जे को पनि दुरुस्तै आकृति उतार्छु त्यसैले मलाई चिनाएको छ र आम्दानीको समेत दर्बिलो श्रोत बनेको छ । 
आफ्नै गाउँघरका उत्पादनलाई प्रयोग गरेर सजावटका सामानहरू बनाउन पाउँदा खुसी लाग्छ उनले भने –  परदेशको जागिरबाट थकित भएर फर्केपछि हस्तकला व्यवसायी बनेको हुँ  यही व्यवसायले मलाई परिवार पाल्ने आधार बन्यो । 
२०२४ सालमा झापा भद्रपुरमा जन्मनु भएका शाक्य सानैदेखि आर्थिक अभावमा रुमलिनुभयो । एसएलसीसम्म झापामै अध्ययन गरे पनि उच्च शिक्षा लिन काठमाडौँ पुग्नुभयो । आर्थिक अभावकै बिच पनि नेपाल कमर्स क्याम्पसमा अध्ययन सुरु गरेपछि उनले पढाइलाई निरन्तरता दिन पाएन र बीचमै उनले पढाई छाडे । 
आर्थिक अभावका बिच हस्तकला क्षेत्र रोजेका उनले अहिले आफूले उत्पादन गरेका सामग्री अमेरिका, अफ्रिका, स्पेन, जापान, जर्मन, बेलायत लगायतका देशहरू पठाउँछन् । 
हेर्दा पनि राम्रो अनि आकर्षक १ बढी मेहनत । कहिल्यै नबिग्रने । माटोमुनि खिएर गएको जरालाई निकालेर सुन्दर आकृति बनाउने काम आफैँमा सजिलो होइन । तर त्यसलाई सजिलैसँग सजावट गर्न मिल्ने काममा लागेका निर्मलको कला आम मानिसका लागि प्रशंसनीय र प्रेरणादायी छ । 

सम्बन्धित समाचार