म्याच फिक्सिङका आरोपी अन्सारी राजविराज र आलम विराटनगरबाट पक्राउ
म्याच फिक्सिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले दुईजना क्रिकेट खेलाडीलाई सोमवार नियन्त्रणमा लिएको छ । नेपाली क्रिकेट टोलीका पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र अहिलेका राष्ट्रिय खेलाडी आदिल अन्सारीलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
नेपाल टी-२० लिग क्रिकेट प्रतियोगिताको म्याच फिक्सिङ र स्पट फिक्सिङ गरेको आरोप उनीहरूमाथि छ । आदिलले लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए भने आलम भने कुनै टिमको सदस्य थिएनन् । आलम पूर्वराष्ट्रिय क्रिकेट खेलाडी हुन् , उनले २००८ मा मोजाम्बिकविरुद्धको खेलमा १० विकेट लिएर रेकर्ड राखेका छन् ।
बारा जिल्ला घर भएका अन्सारीलाई सप्तरीको राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानबाटै सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । सो मैदानमा जारी मुन्ना साह मेमोरियल अन्तर कलेज क्रिकेट प्रतियोगितामा जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट प्रतियोगिता खेल्न मैदान पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आदिललाई अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
उनलाई काठमाडौँ पठाउने तयारी गरिएको प्रहरी स्रोतले बतायो । यस्तै, राजविराज घर भएका पूर्वराष्ट्रिय खेलाडी आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो । नेपाल क्रिकेट संघ क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको साझेदारीमा गत पुस ८ गतेदेखि पहिलो संस्करणको टी- २० लिग प्रतियोगिता गरेको थियो । सो प्रतियोगितामा म्याच फिक्सिङका आधारहरू फेला परेपछि केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरिरहेको छ ।