२०८३ बैशाख २६ गते , शनिबार
बैङ्किङ कसुर मुद्दामा फरार कनकाईका सुवेदी पक्राउ
भद्रपुर । बैङ्किङ कसुर मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका- ४ बस्ने २८ वर्षीय शिवु सुवेदी रहेका छन् । उच्च अदालत विराटनगर इलाम इजलास, इलामको २०७९ असार ८ गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दामा उनलाई एक दिन कैद, १ लाख ५ हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा ४ हजार २०० रुपैयाँ जम्मा गर्नु पर्ने सजाय सुनाइएको थियो ।
फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मङ्गलवार पक्राउ गरेको हो । झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।