झापामा लागू औषधसहित तीनजना पक्राउ
प्रतिबन्धित लागू औषध नियन्त्रणमा सक्रिय भएर लागेको झापा प्रहरीले फेरि तीनजनालाई लागू औषधसहित पक्राउ गरेको छ । दमक नगरपालिका- ६ बसपार्क छेउमा शुक्रवार साँझ ७ ४० बजे इलाका प्रहरी प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को ७ प ७८०५ नम्बरको मोटरसाइकलमा सवार मोरङ रतुवामाई नगरपालिका- १ बस्ने ३० वर्षीय सञ्जय महतो र सोही ठाउँका २५ वर्षीय सुवर्ण यादवलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट प्रतिबन्धित नाइट्राभेट १५० ट्याब्लेट फेला परेको थियो ।
मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ । यता लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले शनिवार साँझ ५ बजे मेचीनगर नगरपालिका- १० सुगम टोल बस्ने अन्दाजी २८ वर्षीय दीपक राजवंशीको घरमा शङ्का लागेर घर खानतलासी गर्दा कोठाभित्र रहेको काठको र्याकभित्र १ ग्राम ब्राउन सुगर फेला परेको थियो । ब्राउन सुगर फेला परेसँगै उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।