बिर्तामोड नगर अस्पतालको सेवा अब नयाँ भवनबाट

बिर्तामोड । बिर्तामोड नगर अस्पताल नयाँ भवनमा सञ्चालनमा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालको निर्माणाधीन भवन यही पौष २० गतेसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेकाले माघ १ गते देखि नयाँ भवनमा १५ बेड क्षमताको अस्पताल सञ्चालनको कामअघि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए ।
अस्पताल नयाँ भवनमा सरेसँगै सेवा पनि थप हुने छन् । यहाँबाट स्वास्थ्य बिमा, दैनिक ओपिडी, उच्चस्तरीय प्रविधियुक्त ल्याब, एक्स–रे, भिडियो एक्स–रे सेवा, डायलोसिस सेवा, २४ सै घण्टा बर्थिङ्ग सेन्टर र इमर्जेन्सी सेवा सञ्चालन गर्ने गरी कामअघि बढाइरहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । उनले डायलोसिस सेवाका लागि रोटरी क्लबको सहयोगमा छ थान मेशिन समेत प्राप्त भएको जानकारी दिए ।
नगरपालिकाले कानुनी संरचना तयार पारेर नगर अस्पताल व्यवस्थापन समिति समेत गठन गरिसकेको छ । नगरले यस अस्पतालमा आवश्यक जनशक्तिका लागि केहिदिन अघि विज्ञापन खुलाएको छ । विज्ञापनमा विशेषज्ञ चिकित्सक नवौँ तह एक जना, मेडिकल अधिकृत आठौँ तह दुई जना, ल्याब टेक्नोलोजिष्ट सातौँ तह १ जना र रेडियोग्राफी पाँचौँ तह एक जना माग गरिएको छ ।
अस्पतालका लागि आवश्यक उपकरणहरू स्रोतले भ्याएसम्म नगरपालिका आफैँ र सहयोगी हातहरूबाट व्यवस्थापन गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । उनले यस अस्पताल पुर्णरुपमा सञ्चालनमा आएपछि निजी अस्पताल धाउने दरमा ५० प्रतिशतले कमी आउने बताए ।
सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि नियमित अनुगमन र जनताको सन्तुष्टिका विषयहरूलाई मापन गरेर यसैको आधारमा अस्पतालको सेवा सुविधालाई वृद्धि गर्दै लैजाने बिर्तामोड नगरपालिकाले जनाएको छ ।
नगर अस्पतालको निर्माणाधीन भवनको नगरप्रमुख पवित्रा महतारा प्रसाईँले गत हप्ता अनुगमन गरेर आवश्यक निर्देशन दिइन् । भवन निर्माणका लागि धुलिखेल निर्माण सेवा प्रा.लिले ५ करोड, ५० लाख सात हजार ७६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।