कोरोना त्रास : काँकडभिट्टा नाकामा 'हेल्थ डेस्क' पुनः सञ्चालन गरिने

झापा । पूर्वी नाका काँकडभिट्टामा रहेको हेल्थ डेस्कलाई पुनः सञ्चालन गरिने जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले आज निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भरियन्ट छिमेकी देशमा फैलिरहेको हुँदा पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिका लागि हेल्प डेस्क सञ्चालनमा ल्याउने तयारी भएको हो ।
नेपाल–भारतबीच खुल्ला सिमाना रहेको हुँदा मानिसको आवतजावतका कारण नेपालमा पनि सङ्क्रमणको जोखिम उच्च रहेको हुँदा यसको रोकथाम र नियन्त्रणका लागि आम समुदाय सजग एवं सचेत रहन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । मेचीनगर नगरपालिका, नेपाली सेनालगायतको सहयोग र समन्वयमा मेचीनगर–१४ मा निर्माण भइरहेको होल्ङिड सेन्टरमा एक सय बेड तयारी अवस्थामा राख्ने, विद्यालय, हाटबजार अर्थात् बढी भीडभाड हुने स्थलमा अनिवार्य मास्क लगाउन र सरकारी तथा गैर सरकारी संस्थाहरूलाई कोरोना रोकथामका उपायबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने आग्रह गरिएको छ ।
प्रदेश नम्बर १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ विरुद्धको खोपको पहिलो शृङ्खला बुस्टर डोजको मात्र लगाउने मानिसको प्रतिशत न्यून रहेको हुँदा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरसँग खोप माग गरी खोप अभियान सञ्चालन गर्न स्वास्थ्य कार्यालय झापालाई अनुरोध गरिएको छ । बैठकमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, प्रहरी उपरीक्षक दुर्गाप्रसाद रेग्मी, स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख राजकुमार पोखरेल, प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट टङ्कप्रसाद बारकोटीलगायतको उपस्थिति रहेको थियो ।