२०८३ बैशाख ५ गते , शनिबार

आर्थिक तरलता बढेसँगै बिर्तामोडका व्यापारी र राजश्वका पदाधिकारीबीच अन्तरक्रिया

sajilo news
झापा
२०७९ पौष ८ गते , शुक्रबार
आर्थिक तरलता बढेसँगै बिर्तामोडका व्यापारी र राजश्वका पदाधिकारीबीच अन्तरक्रिया

बिर्तामोड । आर्थिक तरलता बढी रहेका बेला अर्थतन्त्रलाई चलायमान बनाउदैं व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले राजश्वका पदाधिकारीहरुसंग अन्तरक्रिया गरेको छ ।

शुक्रबार बिर्तामोड स्थित वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा अर्थ मन्त्रालयका राजश्व सचिव रामेश्वर दंगाल, आन्तरिक राजश्व विभागका महानिर्देशक दिर्घराज मैनाली, राजश्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल, मेची भन्सार प्रमुख रामप्रसाद पाठक, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजालसंग बिर्तामोड उद्योग वाणिज्य संघले अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अर्थ मन्त्रालयका राजश्व सचिव दंगालले अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रका व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेकाले नीतिगत सुधार गर्दै कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा सेवा सुविधा लिने तर, किनमेल चाहिँ विदेशी मुलुकमा गर्ने प्रवृत्तिका कारण पनि अर्थतन्त्रमा ह्रास आउनुको एउटा कारण भएको दंगालले बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै आन्तरिक राजश्व विभागका महानिर्देशक मैनालीले अवैध बेपार गर्नेहरूलाई व्यवसायीहरूले नै प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिए । व्यवसायीहरूले व्यवसायी कारोबार गर्दा बिलबिजकलाई अनिवार्य गर्नुपर्ने मैनालीको भनाई छ ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक दहालले अवैध बेपार गर्नेको सूचना दिने असल व्यवसायीको दायित्व भएको उल्लेख गरे । उनले अवैध कारोबार भएको जानकारी पाए आफूलाई सम्पर्क गर्न ब्यवसायीसंग आग्रह गरे ।

कार्यक्रममा व्यवसायी प्रतिनिधिहरूले आफूहरूले गर्ने व्यवसायलाई प्रवर्द्धन गर्नका लागि आवश्यक पर्ने सवारी अन्य मुलुकबाट सहुलियत दरमा किन्न पाउनुपर्ने माग राखे, बैङ्कको चर्को ब्याजदरका कारण व्यवसायी मारमा परेको भन्दै उक्त समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । दोहोरो करका कारण व्यवसायी मारमा परेको भन्दै तत्काल दोहोरो कर प्रणालीको अन्त्य हुनुपर्नेमा जोड दिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का अध्यक्ष टीकाराज ढकाल, उद्योग परिषद् प्रदेश–१ का सल्लाहकार मीनप्रकाश मैनाली, चेम्बर अफ कमर्सका झापा अध्यक्ष ओमकृष्ण विमली, बिर्तामोड उद्योग वाणिज्य संघकी सह–कोषाध्यक्ष राधिका चुँडाल हुमागाईँ, महिला उद्यमी समूहकी अध्यक्ष तिलोत्तमा खत्री, पूर्वाञ्चल प्लाइउडका महासचिव दुर्गा भण्डारी लगायतले उद्योग तथा व्यवसायीले भोग्नुपरेको समस्याका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव अर्जुनकुमार मैनालीले गरेका थिए ।

सम्बन्धित समाचार