उदयपुरमा बोलेरो गाडी दुर्घटना, एकको मृत्यु, पाँच जना घाइते
उदयपुरमा बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।
कटारी नगरपालिका- १० पालसिंह भित्री सडक खण्डमा सोमबार बिहान रुपाटारबाट कटारीतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ च ००५० नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका ताप्ली गाउँपालिका-१ का ६५ वर्षीय मीन बहादुर सार्कीको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरू ताप्ली २ का ३० वर्षीय फडिन्द्र श्रेष्ठ, ७ वर्षीय भवानी श्रेष्ठ, २ वर्षीय भूमिका श्रेष्ठ, ताप्ली ५ का २३ वर्षीय सुमित्रा गिरि र ताप्ली ४ का ४५ वर्षीय झगड बहादुर बिश्वाकर्मको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कटहरिले जनकारी दिएको छ । घटनामा संलग्नमा बोलेरो चालक ईश्वर नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।