रोमानियामा उपचाररत भद्रपुरका विकाश तिम्सिनाको स्वास्थ्यमा सुधार, आए होसमा
रोमानियास्थित टिमिसोराआ हस्पिटलमा कोमा (अचेत अवस्था) उपचाररत भद्रपुरका विकाश तिम्सिनाको स्वास्थ्य सुधार आएसँगै होसमा आएका छन् ।
टाइम्स अफ प्रदेशमा मंसिर १८ गते रोमानिया गएका भद्रपुरका विकाश तिम्सिना कोमामा, सहयोगका लागि परिवारजनको अपिल शीर्षकमा समाचार प्रकाशित भएपछि सरकारको पहलमा रोमानियाका लागि अवैतनिक वाणिज्य दूत नवराज पोखरेल विकासको स्वास्थ्य अवस्था बुझ्न तत्काल अस्पताल पुगेका थिए ।
वाणिज्य दूत पोखरेलले अस्पतालका चिकित्सक र प्रशासन पक्षसँगको सहकार्यमा विकासलाई सोही अस्पतालको अन्य वार्डमा सारेर उपचारलाई थप प्रभावकारी र सहज बनाउन सहजीकरण गरेका थिए ।
सघन उपचार कक्षमा उपचाररत विकासको चार दिनअघि होस आएको भनी वाणिज्य दूत पोखरेल ज्युले फोनमार्फत मलाई जानकारी गराउनु भएको विकासका बुबा कुमार तिम्सिनाले जानकारी दिए ।
‘उहाँ निरन्तर छोराको स्वास्थ्य अवस्था बुझेर हामीलाई जानकारी गराउँदै आउनुभएको छ,’ उनले भने, ‘होसमा आएपनि छोराको अहिले पनि आइसियुमा उपचार भइरहेको छ, नर्मल वार्डमा सारेपछि भिडियो कलमार्फत छोरासँग गफगाफ गराउने भनी पोखरेलज्युले आश्वासन दिनुभयो ।’
भद्रपुर नगरपालिका– ८ स्थित फूलबारी टोल निवासी २६ वर्षीय विकाश गत कार्तिक ३० गते राती रोमानियामै गेट टुगेदर पाटी गरिरहेको अवस्थामा साथीसँग विवाद हुँदा नेपालकै डिबी लामाले उनको टाउकोमा बोतल प्रहार गरी घाइते बनाएका थिए ।
टाउकोमा बोतल प्रहारबाट उनी अचेत अवस्थामा पुगेका थिए ।
यता उनलाई कुटपिट गर्ने लामा हाल त्यहाँबाट फरार रहेको जानकारी प्राप्त भएको छ । कुटपिट गरेको आरोपमा लामाविरुद्ध रोमानिया प्रहरीमा उजुरी समेत परेको छ । रोमानिया प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाइएको छ । ग्लोबल म्यानपावर सामाखुसी काठमाडौँबाट २०७९ जेठ ८ गते विकाश रोमानियाका लागी उडेका थिए। नेपाली करिब ७ लाख रुपैयाँ खर्चिएर होटेलमा पिज्जा बनाउने काममा उनी रोमानिया गएको परिवारजनको भनाइ छ।