देशभर चिसो बढ्यो, तराईमा कुहिरो
झापा । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि अहिले बिहान तराईका केही स्थानहरूमा हुस्सु लाग्नुको साथै पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
आज (शुक्रबार) दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन् ।
प्रदेश १ का पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
तराईका केही भू-भागमा बिहानीपख हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यसैबीच, तराईका केही भू-भागमा विहान बाक्लो हुस्सु र कुहिरो लागेको छ । जसकारण देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रुपले घट्दै गएको हो ।
यस्तै आज बिहान काठमाडौंको तापक्रम ८.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागको अनुरोध छ ।
शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।