२०८३ असार १३ गते , शनिबार

शहिद लक्ष्मी पाण्डेको स्मृतिमा वृक्षारोपण

sajilo news
झापा
२०७९ मंसीर २७ गते , मंगलबार
शहिद लक्ष्मी पाण्डेको स्मृतिमा वृक्षारोपण

अनेरास्ववियु झापाले विद्यार्थी शहिद लक्ष्मी पाण्डेको स्मृतिमा वृक्षारोपण गरेको छ । आज बिहान सुरुङास्थित शहिद पाण्डेको शालिकमा माल्यार्पण गर्दै वृक्षारोपण गरेर पाण्डेको सम्झना गरेको छ । अनेरास्ववियुले हरेक वर्ष मंसिर २७ मा पाण्डेको स्मृतिमा कार्यक्रम आयोजना गर्दै आएको छ । सोही क्रममा आज नेकपा एमालेका प्रदेश कमिटी सचिव एवम् प्रदेश सांसद चिन्तन पाठकको प्रमुख आतिथ्यमा स्मृति दिवस मनाइएको हो ।

अनेरास्ववियुका विद्यार्थीहरू सहभागी कार्यक्रममा पाण्डेको माता मायादेवी पाण्डेलाई सम्मान समेत गरिएको थियो । त्यसपश्चात् शालिकमा माल्यार्पण गर्दै कनकाई बहुमुखी क्याम्पसको परिसरमा वृक्षारोपण गरिएको अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामाले जानकारी दिए ।

भारत मेघालयबाट लखेटिएका नेपाली भाषीको निम्ति आन्दोलनरत पाण्डेलाई ०४४ साल मंसिर २७ गते तत्कालीन शासकले गोली हानी हत्या गरेका थिए । नेपाली भाषीको पक्षमा भएको आन्दोलनमा अग्र मोर्चामा रहेका पाण्डेले महिलाहरूमाथि प्रहरीले गरेको दुर्व्यवहार विरुद्ध प्रतिकार गर्दा उनीमाथि गोली चलाइएको थियो, अनेरास्ववियु झापाका सचिव नारायण पोखरेल भन्छन् ।

स्मृति सभामा पाण्डेले गरेको योगदान र उनको सपनाबारे चर्चा गरिएको थियो । स्मृति सभामा प्रदेश सचिव पाठक, अनेरास्ववियुका सचिव डम्बर अधिकारी र केन्द्रीय सदस्य समर्पण खतिवडाले पाण्डेको योगदानबारे चर्चा गरे ।

सम्बन्धित समाचार