बिर्तामोड नगर प्रहरीका कमान्डरको अर्को घुस काण्ड सार्वजनिक, ३ हजारको रसिद दिएर १० हजार लिएको आरोप
बिर्तामोड । बिर्तामोड नगर प्रहरीका कमान्डर किरण भनिने ढलकबहादुर पाण्डेको अर्को घुस काण्ड सार्वजनिक भएको छ । उनले एक जनासंग तीन हजारको बिल दिएर दश हजार रुपैयाँ झ्वाम्म पारेको घटना सार्वजनिक भएको हो । बिर्तामोड ४ बस्ने सायल आलमले गत मंसिर १८ गते बिर्तामोड बसपार्क पूर्वपट्टि फोहोर फ्याल्दा पाण्डेले उनीसँग जरिवाना भनेर १० हजार रुपैयाँ लिएका थिए ।
तर, उनले ३ हजारको रसिद मात्र दिएका छन् । अरू ७ हजार रुपैयाँ पाण्डेले खाएको घटना सार्वजनिक भएको हो । युवा नागरिक समाजको कार्यालयमा पुगेका आलमले आफूसँग भएको घटना सार्वजनिक गरेका हुन् । सो रकम पाण्डे र घुमुवा नगर प्रहरी राजकुमार खड्काले लिएका थिए ।
हिजो मात्र पाण्डेले बिर्तामोड नगरपालिका वडा नं ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलकै अगाडि एक हजार रुपैयाँ घुस मागेका थिए । कमान्डर पाण्डे बिर्तामोड नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे निकट हुन् । वडाध्यक्ष पाण्डेकै सहयोगमा उनले कमान्डर पद पाएको बताइन्छ ।