बिर्तामोड नगर प्रहरीका कमान्डरले 'घुस' मागेपछि....
बिर्तामोड । अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसकै दिन बिर्तामोड नगरपालिका ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलकै अगाडि बिर्तामोड नगर प्रहरीका कमान्डर किरण पाण्डेले घुस मागेपछि विवाद भएको छ ।
बिर्तामोड बसपार्क पूर्वपट्टि मोटरसाइकलमा फोहोर फाल्दा रवीन्द्रकुमार भारतीलाई नगर प्रहरीले मोटरसाइकलसहित फेला पारेको थियो । फोहोरको पोकासहित उनको मोटरसाइकल नियन्त्रणमा लिएर नगर प्रहरीले नगरपालिका कार्यालय लिएर आएको थियो । फोहोर फालेबापत भारतीले शुक्रवार दिउँसो ४ हजार रुपैयाँ जरिवाना तिरेर अबदेखि त्यस्तो काम नगर्ने भनेर कागज गरेका थिए ।
त्यसपछि मोटरसाइकलको चाबी माग्दा नगर प्रहरीका कमान्डर पाण्डेले वडाध्यक्ष खरेलकै सामुन्ने एक हजार रुपैयाँ घुस मागेका थिए । प्रमुख प्रशासकीय अधिकृतको नाम भजाउँदै वडाध्यक्षकै अगाडि त्यसरी खुल्लमखुल्ला घुस मागेपछि नगरपालिकामा विवाद भएको हो । बिलबिना कमान्डर पाण्डेले घुसको लागि रकम मागेको भन्दै वडाध्यक्ष खरेलले तीव्र विरोध जनाएका छन् । आफू जनप्रतिनिधिकै अगाडि त्यसरी घुस माग्नु भनेको बिर्तामोडमा नीतिगत भ्रष्टाचार व्याप्त देखिएको उनले बताए ।
घटनापछि भेला भएको भीडले घुस माग्ने पाण्डेसहितका नगर प्रहरीलाई हातपात गरेका छन् । उनीहरूले घुस माग्ने पाण्डेलाई तत्काल कामबाट निकाल्नु पर्ने माग गरेका छन् । बिर्तामोड नगर प्रहरीले यसअघि पनि अन्यसँग त्यसरी रकम उठाउने गरेको गुनासो सुनिने गरिएको छ ।