आज भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस
आज भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष ९ डिसेम्बरका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।
नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । महासन्धिअनुसार नै नेपालले सम्पत्ति शुद्धीकरण आयोग गठन गरेको हो । भ्रष्टाचारविरूद्ध लड्न संवैधानिक र कानुनको सर्वोच्चता अंगिकार गरिएको छ । सन् २००३ मा संयुक्त राष्ट्र संघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रूपमा मान्यता दिएको हो ।
दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक तीनवटै उपायहरूलाई सँगसँगै कार्यान्वयनमा उतार्न आवश्यक रहेको बताए।
नेपालमा कुनै पनि संस्था वा राज्यका विभिन्न पदमा रहेका व्यक्तिले आफ्नो अधिकारको दुरुपयोग गरेमा उनीहरूलाई कारबाही गर्न संवैधानिक निकायका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ ।
भ्रष्टाचार दिनदिनै बढिरहेको र संसारभरि एउटा साझा समस्याका रूपमा फैलिरहेको छ ।यसले आर्थिक, राजनैतिक र वैचारिक पृष्ठभूमिलाई नकारात्मक असर पार्ने गर्छ । हुन त सरकारले भने भ्रष्टाचार न्यूनीकरण हुँदै गएको दाबी गर्दै आएको छन् ।