अग्रवाल दम्पत्तीद्वारा विवाह वर्षगाँठमा झापा नाटक घरलाई आर्थिक सहयोग
बिर्तामोड । बिर्तामोडका व्यवसायी तथा मारवाडी सेवा समिति बिर्तामोडका निवर्तमान अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरे – मायादेवी अग्रवालले आफ्नो ४२ औं विवाह वर्षगाँठ बिर्तामोड –१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुजाति ,बहुभाषी , बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माण पूरा गर्न ५१ हजार रुपैयाँ प्रदान गरेर मनाएका हुन् ।
पछिल्लो समय नेपाली समाजमा जन्मदिन, विवाह वर्षगाँठलगायतका कार्यक्रमहरूमा फजुल खर्च गर्ने, तडक–भडक देखाउने प्रचलन बढ्दो रहेको र त्यस्तो कार्यले समाजमा विकृति फैलिने भएकाले समाजमा जन्मदिन,विवाह वर्षगाँठमा गरिने फजुल खर्चले सामाजिक कार्य गर्न सकिन्छ भन्ने सन्देश दिन झापा नाटक घरलाई सहयोग गरेर विवाह वर्षगाँठ मनाएको बिर्तामोडका व्यवसायी तथा मारवाडी सेवा समिति बिर्तामोडका निवर्तमान अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरेले बताए । विगतका वर्षदेखि नै आफूले विवाह वर्षगाँठ केही न केही नयाँ तरिकाले मनाउने गरेको बताउँदै उनले विवाह वर्षगाँठमा अनावश्यक खर्च गर्नुभन्दा समाजमा केही फरक तरिकाले मनाउँदा आफूलाई आत्मसन्तुष्टि मिल्ने जानकारी दिए ।
झापा नाटक घरमा आयोजित कार्यक्रममा सुरेशकुमार अग्रवाल भद्रपुरे – मायादेवी अग्रवालले आफ्नो ४२ औं विवाह वर्षगाँठको प्रतीकको रुपमा त्यहाँ रहेको ४२ वटा दीप प्रज्जवलित गरेका थिए भने केक काटेर एक अर्कामा खुसीयाली साटासाट गरेका थिए । विवाह वर्षगाँठ मनाउन आफ्ना अग्रज र साथीभाइसँग झापा नाटक घर पुगेका उनीहरूलाई क्षितिज नौमती बाजा व्यवस्थापन समितिका महिलाले नौमती बाजा बजाएर स्वागत गरेका थिए । पुरुषले सरह नौमती बाजा बजाएर आफ्नो मौलिक बाजागाजा र संस्कृतिको संरक्षण गरेको भन्दै अग्रवाल दम्पतीले क्षितिज नौमती बाजा व्यवस्थापन समितिका महिलालाई नगद १० हजार रुपैयाँ सहयोग गरेका थिए ।
मारवाडी समुदायका अग्रज तथा सुरेशकुमार अग्रवाल भद्रपुरेका दाजु राजकुमार अग्रवालको अध्यक्षता तथा अग्रसेन भवनका संस्थापक सुरेशकुमार वंशलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्षितिज साहित्य प्रतिष्ठानका अध्यक्ष तुलसीप्रसाद भट्टराईले स्वागत गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सञ्जीव घिमिरे,मारवाडी सेवा समिति बिर्तामोडका निवर्तमान अध्यक्ष पवन खेडियालगायतले अग्रवाल दम्पतीले विवाह वर्षगाँठमा झापा नाटक घरमा सहयोग गरेर उदाहरणीय कार्य गरेको र यस्ता कार्यले समाजमा सकारात्मक सन्देश दिने बताउँदै आफूहरूले निर्माणाधीन झापा नाटक घरको निर्माण पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै रोटरी क्लब डिष्ट्रिक ३२९२ एडीसनल गभर्नर निकिता गिरीले अग्रवाल दम्पतीको सफल वैवाहिक जीवनको कामना गर्दै झापा नाटक घरलाई ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिन् ।
कार्यक्रममा मोरिक साधना कलाकेन्द्र बिर्तामोड –२ चारपानेका कलाकार संवृद्धि खड्का र बिसीका सङ्ग्रौलाले नृत्य गरेर मनोरञ्जन दिएका थिए भने उनीहरूको नृत्यलाई मन पराएर मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहन मित्तलले नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय सदस्य माधव सिटौलाले तारादेवीको जस्तै स्वरमा गीत प्रस्तुत गरेर सबैको वाहवाही पाएका थिए भने क्षितिज सङ्गीत साधना प्रतिष्ठानका अध्यक्ष नीरज पोखरेल र गायक अर्जुन खरेलले गीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा क्षितिज नाट्य प्रतिष्ठानका पदाधिकारीहरूले सुरेशकुमार अग्रवाल भद्रपुरे – मायादेवी अग्रवाललाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पितले गरेका थिए ।