भारतीय सवारीसाधनलाई पशुपतिनगर प्रवेशका लागि निःशुल्क सुविधा पास
पूर्वी पहाडी नाका पशुपतिनगरमा निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारीसाधनलाई निःशुल्क सुविधा पास उपलब्ध गराइने भएको छ।
आइतबारदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार र मोटरसाइकल आदिलाई ‘सुविधा पास’ दिइने भएको हो। आज पशुपतिनगरमा प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, सुरक्षानिकायका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, व्यवसायी लगायतको संयुक्त बैठकले सुविधा पास उपलब्ध गराउनेबारे निर्णय गरेको भन्सार अधिकृत प्रेम लामाले जानकारी दिए।
विश्वमा कोभिडको संक्रमणपछि लागेको लकडाउनयता भारतीय सवारीसाधनलाई यो सुविधा दिइएको थिएन। लामाका अनुसार सूर्योदय उद्योग वाणिज्य संघ र पर्यटनसँग सम्बन्धित संघसंस्थाले सीमा नजिकको बजारसम्म भारतीय सवारीसाधनलाई सुविधा पासमा प्रवेश दिन माग गर्दै आएको बताए।
बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चल्ने गरी भारतीय गाडीले उक्त सुविधा पाउनेछन्। यो सुविधा पास पाउन भारतीय सवारीसाधनले कुनै शुल्क बुझाउनु पर्दैन। नेपालतर्फ हेल्थ डेस्क व्यवस्था गर्न छलफलमा सहभागी सहमत भएका छन्। सुविधा पाउने गाडीले दिनभर पशुपतिनगर बसपार्कसम्म आवतजावत गर्न पाउनेछन्।