अनेरास्ववियु झापाले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षणपत्र
बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन झापाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ ।
मंसिर ४ गते सम्पन्न निर्वाचनका दिन बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ को निर्वाचन केन्द्रमा भएको विवादलाई विषायन्तर गरी गठबन्धन समर्थक युवाहरूले सोही राती अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य चेतनदिप ऐडीको हत्या गरेको आशङ्का गर्दै पीडितको न्यायको माग सहित अनेरास्ववियु झापाले ध्यानाकर्षण पत्र बुझाएको छ ।
साथै अनेरास्ववियुले ऐडीको हत्यामा न्यायको माग गर्न उत्रिएका विद्यार्थीहरूलाई सरकारले झुटो मुद्दामा पक्राउ गरेको र उनीहरूलाई तत्काल रिहा गर्नुपर्ने माग पनि राखेको छ । अनेरास्ववियु झापाले ध्यानाकर्षण पत्रमा सरकारले अपराधीहरूलाई संरक्षण गरेको आरोप लगाउँदै सत्य तथ्य छानबिन र न्यायको माग गरेका छन् । उनीहरूले सरकारले तत्काल घटनाको छानबिन नगरे आफूहरू आन्दोलनमा उत्रिने पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।
अनेरास्ववियु झापाले प्रधानमन्त्रीलाई ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । मृतकका परिवार तर्फबाट किटानी जाहेरी दिएकाहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने, परिवारका सदस्यलाई उचित क्षतिपूर्ति र भरण पोषणसहित चेतनदिप ऐडीको छोराको हाल देखी उच्च शिक्षासम्मको जिम्मा सरकारले लिनुपर्ने, न्यायका निम्ति शान्तिपूर्ण दबाब कार्यक्रम गर्दा प्रक्रिया गरी झुटो मुद्दा लगाइएका अनेरास्ववियु जिल्ला अध्यक्षसहित सम्पूर्ण नेता कार्यकर्ताहरूलाई तत्काल मुद्दा खारेजी गरी बिना सर्त रिहा गरिनु पर्ने, चेतनदिप ऐडीलाई सहिद घोषणा गरिनु पर्ने, ऐडीको स्मृति पार्क निर्माण गरिनुपर्ने माग गरिएको छ ।