विश्वकपको पहिलो खेलमै जर्मनी जापानसँग पराजित

दोहा । जापानविरुद्ध पहिलो हाफमा लिएको १-० को अग्रता जोगाउन नसक्दा जर्मनी लगातार दोस्रो पटक विश्वकपको पहिलो खेलमा पराजित भएको छ
बुधबार खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न समूह ‘ई’को पहिलो खेलमा चार पटकको विश्व विजेता जर्मनी १–२ गोलको नतिजामा स्तब्ध भयो।
सन् २०१८ मा रुसमा भएको विश्वकपको पहिलो खेलमा मेक्सिकोसँग १-० ले पराजित भएको थियो। डेविड रौमलाई जापानी गोलकिपर सुचाइ गोन्डाले लडाएपछि चार पटकको च्याम्पियनले पेनाल्टीबाट अग्रता लिने मौका पाएको थियो।
सोही पेनाल्टीमा गुन्डोगनले गरेको गोलसँगै जर्मनीले अग्रता लिएको हो। त्यसअघि आठौं मिनेथमा जापानका डाइजेन मेइडाले गरेको गोल अफसाइडका कारण रद्द भएको थियो।
दोस्रो हाफमा काउन्टर अट्याकमा जापानले दुई गोल गर्दै ऐतिहासिक जित निकाल्यो। खेलको ७१औं मिनेटमा ओ टनाकाको स्थानमा मैदान प्रवेश गरेका रित्सु डोआनले ७५औं मिनेटमा गोल गर्दै एसियाली मुलुकलाई १–१ को बराबरीमा ल्याएका थिए। त्यसको आठ मिनेट नबित्दै अर्का सब्स्टिच्युट खेलाडी ताकुमा असानोले जापानका लागि दोस्रो गोल गरे।
उनी ५७औं मिनेटमा मेइडाको स्थानमा मैदान प्रवेश गरेका थिए। विश्वकपमा हालसम्म सबैभन्दा हाइ प्रोफाइल मुलुकविरुद्ध जित निकाल्दा जापानका लागि सब्स्टिच्युट खेलाडी भाग्यशाली रहे।
आठ वर्षअघि ब्राजिलमा भएको विश्वकपमा च्याम्पियन बनेको जर्मनी रुसमा समूह चरणबाटै बाहिरिएको थियो। जापान रुसमा अन्तिम १६ मा पुगेर बेल्जियमसँग पराजित हुँदै बाहिरिनु परेको थियो।
बुधबार नै हुने समूह ‘ई’को दोस्रो खेलमा स्पेन र कोस्टा रिका भिड्दै छन्। नेपाली समयअनुसार स्पेन र कोस्टा रिकाबीचको खेल ९:४५ बजे सुरु हुनेछ।