अपडेट : भद्रपुरमा फेरि अर्को शङ्कास्पद बस्तु फेला
भद्रपुर । मतदान स्थल तोकिएको भद्रपुर- ७ चन्द्रगढीस्थित वीरेन्द्र मावि नजिकै फेरि अर्को शङ्कास्पद बस्तु फेला परेको छ । शुक्रबार राती ९ बजेर ४० मिनेटमा वीरेन्द्र माविको पश्चिम पट्टीको गेटमा शङ्कास्पद बस्तु फेला परेको थियो । त्यसको केही समय पश्चात् उत्तरतर्फको सानो गेटमा फेरि अर्को शङ्कास्पद बस्तु फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
पहिला फेला परेको वस्तु कार्टुनले प्याक गरी तार निकालिएको छ । त्यसमाथि खतराको सङ्केत उल्लेख गरिएको छ । दोस्रो शङ्कास्पद वस्तु झोला हो । एउटै मतदान स्थलमा दुई वटा शङ्कास्पद वस्तु फेला परेसँगै स्थानीयमा त्रास फैलिएको छ ।
बम हो वा होइन त्यस बारेमा जाँच भइरहेको छ । घटनास्थलमा आएका नेपाली सेनाको बम डिस्पोजल टोलीले रात परेकोले भोलि बिहान डिस्पोज गर्ने जनाएको छ । अहिले दुवै शङ्कास्पद वस्तुलाई सशस्त्र प्रहरीले घेरा हालेर सुरक्षित राखेको छ ।