चुनावी नारामै सीमित झापाका पाँच नदी, जहाँ अहिलेसम्म बनेन पुल

झापा । हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बनेको झापाका अधिकांश नदीहरूमा पक्की पुल र झोलुङ्गे पुल नबन्दा स्थानीयले वर्षौँदेखि सास्ती झेल्दै आएको छ ।
यस पल्ट पक्का नदीहरूमा पुल बनिहाल्छ भन्दै हरेक चुनावमा राजनीतिक दल र तिनका उम्मेदवारहरूले स्थानीय मतदाताहरूलाई एउटै आश्वासन दिँदै आएको र तर, ती समस्याको अन्त्य अझै नटरेको स्थानीयवासी बताउँछन् ।
विशेष गरी झापाको दक्षिणी क्षेत्र भएर बग्ने मेची, बिरीङ, कनकाई, रतुवा र निन्दा नदी तर्न स्थानीयले बर्खायाममा जोखिमपूर्ण र हिउँदमा बाँसेको पुलको सहारामा ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।
साथै स्थानीयले डुङ्गा वा बाँसे पुल चढ्दा स्थानीयले चर्को शुल्क तिर्नुपर्ने समस्या पनि त्यस्तै छ । भारतीय सीमा नाका जोडिएको कचनकवल गाउँपालिका–५ पाठामारी भएर बग्ने मेची नदीमा ६ वर्षदेखि निर्माणाधीन झोलुङ्गे पुल अलपत्र छाडेर ठेकेदार बेपत्ता छन् । आर्थिक वर्ष २०७२/०७३ मा ठेक्का लागेको झोलुङ्गे पुल नबन्दा त्यहाँका स्थानीय बर्खामा डुङ्गा र हिउँदमा बाँसे पुल चढ्दै आएका छन् । स्थानीय इन्तियाज आलमले कचनकवल गाउँपालिकाबाट डुङ्गा र बाँसे पुलको ठेक्का लिएर स्थानीयबाट रकम असुल्दै आएको छ । डुङ्गामा मोटरसाइकलको भारु ५०, साइकलको भारु ३० र मान्छेको भारु २० लिँदै आएको छ । बाँसे पुल बनिरहेकोले सो नदीमा अहिले पनि डुङ्गा चलिरहेको छ ।
‘मेचीमा पुल नबन्दा यहाँका स्थानीयलाई धेरै समस्या छ,’ स्थानीय कार्तिकलाल गणेशले भने, ‘नेताहरु आएर हेर्छ, अनि फर्किन्छ, उनीहरूको अरू काम नै के छ र ?’ ‘चुनाव आउँदा गाउँ पस्ने नेताहरूको एउटै नारा छ, मलाई जिताउनुहोस् यसबर्ष भित्र पक्का झोलुङ्गे पुल बनाइदिन्छौँ,’ उनले थपे ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन ललितपुरले निलगिरी÷महावीर जेभी काठमाडौँलाई २०७३ मंसिर १२ गते ठेक्का दिएको थियो । सो निर्माण कम्पनीले ३ करोड ६४ लाख रुपैयाँमा पुलको ठेक्का लिएको छ । पुलको लम्बाई ४४२ दशमलव ४५ मिटर र चौडाइ चार फिट रहेको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ । ६ वर्ष बित्न लाग्दा समेत निर्माण कम्पनीका युवाराज डाँगीले पुलको दुई वटा पिलर खडा गरी अलपत्र अवस्थामा छाडेपछि सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख भरत अर्याल आफै निर्माण स्थल पुगेर विषयवस्तु बुझेका छन् ।
निर्माण कम्पनीले अब पनि काम अधुरो काम पूरा नगरे कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने योजना प्रमुख अर्यालले बताए ।
कचनकवल गाउँपालिका–१ स्थित पिन्डलबारीको अवस्था पनि त्यस्तै छ । बिरीङ नदीमा निर्माणाधीन अवस्थामा रहेको झोलुङ्गे पुल नबन्दा त्यहाँका जनताले पनि वर्षौँदेखि सास्ती झेल्दै आएको छ । बर्खामा प्यालिष्टको ड्रम र बाँसले बनाएको डुङ्गा (फेरी) र हिउँदमा बाँसे पुलबाट प्रयोग गर्नुपर्ने त्यहाँको समस्या छ । डुङ्गा र बाँसे पुल चढ्दा स्थानीयले पैसा तिर्नुपर्ने हुन्छ । मोटरसाइकलको ८० रुपैयाँ र साइकलसहित मान्छेको ३० रुपैयाँ स्थानीय तेजनारायण राजवंशीले असुल्दै आएको छ । गाउँपालिकाले सहयोग नगर्दा पुल बनाएको खर्च उठाउँदै आएको उनले बताए ।
सस्पेन्सन ब्रिज डिभिजनले पनि विरीङ नदीमा आर्थिक वर्ष २०७५/०७६मा झोलुङ्गे पुल बनाउन ठेक्का लगाएको थियो । सो पुलको ठेक्का बिएलटी निर्माण कम्पनीले लिएको हो । कम्पनीले एउटा पिलर अधुरो छाडेर काम ठप्प राखेको छ । यस पल्ट नदीले धार परिवर्तन गर्दा ठेक्का लागेको पुलको टेन्डर रद्द गरी नयाँ प्रक्रियाबाट ठेक्का लगाउनु पर्ने अवस्था देखिएको योजना प्रमुख अर्यालले बताए । पहिला सानो लम्बाइको पुल बनाउन लागेकोमा अहिले लामो पुल बनाउने पर्ने देखिएको उनको भनाई छ ।
यता भद्रपुर– ३ स्थित भैसाबाडीबासीले पनि मेची नदीमा अस्थायी बाँसे पुल बनाउँदै आएको छ । भारतीय बजार ओहोरदोहोरका लागि त्यहाँ स्थानीयले बाँसे पुल बनाउँदै आएको छ । यस वर्ष पनि बाँसे पुल बनाउने काम भइरहेको स्थानीयले बताएका छन् । त्यहाँ पनि झोलुङ्गे पुल बनाउनु पर्ने स्थानीयको माग छ । यो क्षेत्र राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन र नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र हो ।
त्यसैगरी नेकपा एमाले केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा– ५ मा पनि स्थानीयलाई त्यस्तै समस्या छ । हुलाकी राजमार्ग जोड्ने गौरीगञ्ज गाउँपालिका– ५ स्थित रतुवा नदीमा पक्की पुल नबन्दा त्यहाँका स्थानीयले बर्खायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । रतुवा नदी बग्ने झापा र मोरङको सिमाना पनि हो । अहिले नदीमा अस्थायी बाँसे पुल बनाएको छ । बाँसे पुल तर्न मोटरसाइकलले १०० रुपैयाँ, साइकलसहित मान्छेको ५० रुपैयाँ र मान्छेको २० रुपैयाँ शुल्क तोकिएको छ । नदीमा पक्की पुल बनाउने ठेक्का आर्थिक वर्ष २०६४/०६५ मा कालिका ओसिए जेभीले लिएको हो । ठेक्का लागेको पुल १५ वर्ष बितिसक्दा पनि अधुरै छ । निर्माण कम्पनीले १० करोडमा ३२ लाख ९१ हजार रुपैयाँ पुलको ठेक्का लिएको हो । ठेकेदारले अहिलेसम्म नदीमा पुल आधा भाग पनि नढाक्ने गरी बनाएपछि स्थानीय समस्यामा छन् । नदीमा पुल नबन्दा त्यहाँका स्थानीय करिब एक किलो मिटर पारी रहेको बस्ती पुग्न बर्खामा झन्डै ३० किलोमिटर बाटो घुम्नु पर्ने समस्या रहेको कुलदेव ताजपुरियाले बताए । ‘चुनाव आएपछि पुल बनाउने दल र उम्मेदवारको नारा नै बन्छ, तर समस्याको अन्त्य गर्दैनन्,’ उनले थपे ।
गौरीगञ्ज– ३ स्थित नेहेरा खोलाको पक्की पुल पनि अधुरै छ । त्यहाँ काठको पुल बनाइएको छ । त्यहाँका स्थानीयले पनि जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
त्यस्तै प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका नेता लालप्रसाद सावाँ लिम्बु (एलपी)को निर्वाचन क्षेत्र झापा ४ मा पनि दुई वटा पक्की पुल वर्षौँदेखि अलपत्र छ । हुलाकी राजमार्गअन्तर्गतको कनकाई र विरीङ नदीमा पुल नबन्दा त्यहाँका स्थानीय बर्खामा डुङ्गा र हिउँदमा बाँसे पुल प्रयोग गर्न बाध्य छन् ।
झापा गाउँपालिका– ५ स्थित पन्थपडास्थित बिरीङ नदीमा अहिले बाँसे पुल बनाएको छ । बर्खामा त्यहाँ डुङ्गा चल्छ । स्थानीयले दुवै मौसममा नदी तर्न पैसा तिर्नुपर्ने हुन्छ । बाँसे पुल चढ्दा मोटरसाइकलले ५० रुपैयाँ, साइकलको ३० रुपैयाँ र पैदल यात्रीलाई २० रुपैयाँ लिने गरेको स्थानीय बताउँछन् । गाउँपालिकाबाट स्वीकृति नलिई बाँसे पुल बनाउने ठेकेदारले मनपरी रकम असुल्ने गरेको स्थानीयको भनाई छ । झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका जोड्ने नदी पनि यही हो । सो पक्की पुल बनाउने ठेक्का लामा–मैनाचुली जेभीले ०६८ वैशाखमा १५ करोड ५० लाख ५८ हजारमा लिएको थियो ।
झापा गाउँपालिका २ रंगधानस्थित कनकाई माई नदीको पुल पनि एक दशकदेखि अलपत्र छाडेर ठेकेदार बेपत्ता छन् । कनकाई माईमा पनि स्थानीयले डुङ्गा र बाँसे पुलबाट ओहोरदोहोर गर्दै आएको छ । ठेकेदारले यात्रुबाट पैसा असुल्दै आएको छ । स्थानीयले मोटरसाइकलमा यात्रा गरेको एक सय र मान्छे मात्र हिँडेको २० रुपैयाँ बुझाउँदै आएका छन् ।
आर्थिक वर्ष २०६७/०६८ मा ३४ करोडमा ठेक्का लागेको ७२४ मिटर लम्बाइको कनकाई नदीको पुल दुई वर्षदेखि निर्माण व्यवसायी कम्पनी पप्पु जेभीको पार्टनर महादेव खिम्तीले काम सुरु गरेको हो । तर, पुल निर्माणको कामले अझै पनि गति लिन सकेको छैन ।
त्यस्तै झापा १ अन्तरगत मेचीनगर– १५ ज्यामिरगढीस्थित ग्वालगाउँ जोडने निन्दा नदीको झोलुङ्गे पुल निर्माण कार्यले पनि गति लिन सकेको छैन । रौतहट अनुसुवी÷अन्सुमन जेभी उदयपुरले ३ करोड ९६ लाख रुपैयाँमा सो पुलको ठेक्का लिएको हो । पुलको लम्बाई ३२६ दशमलव २० मिटर रहेको छ । २०७८ जेठ ८ गते सम्झौता गरेको पुलको कुनै काम पनि भएको छैन । नदी कटानका कारण ठाउँ परिवर्तन भएकोले लागेको ठेक्का रद्द गरी पुनः डिपीआर बनाएर टेन्डर लगाउनु पर्ने स्थलगत अनुगमनको क्रममा देखिएको सस्पेन्सन ब्रिज डिभिजनका इन्जिनियर उपेन्द्र देवकोटाले जानकारी दिए ।
उता शिवसताक्षी नगरपालिका–७ स्थित लालपानी–चन्द्रडाँगी जोड्ने कनकाई नदीमा लागेको झोलुङ्गे पुलको अवस्था पनि त्यस्तै छ । पशुपति÷हरिहरि जेभी काठमाडौँले ७ करोड ८१ लाख रुपैयाँमा ठेक्का लागेको पुलले अझै गति लिन सकेको छैन । २०७७ असार ३१ गते ठेक्का लागेको पुलको लम्बाई ६४४ दशमलव २० मिटर रहेको छ । २०७९ असार २९ गते निर्माण कार्य सक्नु पर्ने थियो । सरकारले एक वर्ष म्याद थप गर्ने निर्णय गरेसँगै सो कम्पनीले पनि एक वर्ष म्याद थप पाएको इन्जिनियर सापकोटाको भनाई छ । झापा र मोरङ सीमा जोड्ने रतुवा खोलामा निर्माणाधीन अवस्थामा रहेको झोलुङ्गे पुल पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । निलगिरी÷महावीर जेभी काठमाडौँले ३ करोड २३ लाख रुपैयाँमा सो पुलको ठेक्का लिएको हो ।
४४५ दशमलव ४० मिटर लम्बाई रहेको पुलको सम्झौता २०७३ भदौ १५ गते भएको थियो । ६ वर्ष बित्न लाग्दा समेत त्यो पुल अझै सञ्चालनमा नआएको स्थानीयको गुनासो छ । हाल त्यो पुलको निर्माण कार्य अन्तिम चरणमा रहेको इन्जिनियर सापकोटाले जानकारी दिए ।