२०८१ माघ २५ गते , शुक्रबार

‘गठबन्धनको जित नै जनताको जित हो’

sajilo news
झापा
२०७९ कार्तिक २५ गते , शुक्रबार
‘गठबन्धनको जित नै जनताको जित हो’

बाम लोकतान्त्रिक गठबन्धन झापा क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारले मंसिर ४ गते जनताको जित हुने बताएका छन् । त्यसका लागि सम्पूर्ण जनताले गठबन्धनलाई विजयी गराउन आ(आफ्नो ठाउँबाट तलमाथि नगरी आफ्ना उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन् ।

शुक्रवार चन्द्रगढीमा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै झापा ३ का उम्मेदवार तथा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न गठबन्धनलाई विजयी गराउनुपर्ने बताए । ‘हिजो हामी यिनै राजनीतिक शक्तिहरू मिलेर संविधान जारी गर्‍यौँ,’ उनले भने, ‘आज प्राप्त उपलब्धिलाई संस्थागत गर्न एक ठाउँमा उभिएका छौँ ।’

उम्मेदवार सिटौलाले संविधानले परिकल्पना गरे अनुसारको उपलब्धि जनताले अझै महसुस गर्न नपाएको बताए । ‘संविधानमाथि बेलाबेला हमला भइरहेको छ,’ उनले भने, ‘त्यसलाई रोक्न पनि गठबन्धन दलको जित अनिवार्य छ ।’

राजेन्द्र लिङ्देनप्रति लक्षित गर्दै उम्मेदवार सिटौलाले विकास गर्न पाँच वर्षका लागि पठाएका प्रतिनिधिले सिन्कोसमेत नभाँचेको बताए । ‘हामीले यस क्षेत्रबाट राजेन्द्र जीलाई जिताएर पठाएकै हौँ,’ उनले प्रश्न गरे, ‘खै त पाँच वर्ष उनले के गरे रु, संसद्मा किन कुरा उठाउन सकेनन् रु’ नेता सिटौलाले विगतमा दमनमा उत्रिएका लिङ्देनलाई सच्चिन पनि आग्रह गरे । उनले पूर्व पञ्च कमल थापा सच्चिए पनि लिङ्देन अझै नसच्चिएको स्पष्ट पारे ।

काँग्रेसका पूर्व उपसभापतिसमेत रहेका सिटौलाले विश्वप्रकाश शर्मा जस्तो क्षमता र दृष्टिकोण भएका व्यक्तित्वलाई राष्ट्रले नै खोजिरहेको बताए । उनले विश्वप्रकाश शर्माले मुलुकको मार्गचित्र बनाउन सक्ने भएकाले उहाँहरू जस्ता युवालाई जिताउनु पर्ने बताए । ‘शर्माले जित्नु भनेको देशले जित्नु हो,’ उनले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै झापा १ का प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले आजको यो संयुक्त भेला बिहेको जस्तो भात खौरे भएको र मंसिर ४ गते जन्ती लिएर आउने उद्घोष गरे । उनले झापा १ र ३ बाट देशभर गठबन्धनको विजयीको जनलहर सुरु हुने बताए । ‘हामी सरकार बनाउन मात्रै संसद् छिर्ने छैनौँ,’ शर्माले भने, ‘जनताको परिवर्तनलाई संस्थागत गर्न पाँच वर्ष गठबन्धन सरकारले काम गरेर देखाउनेछ ।’ काँग्रेसका महामन्त्रीसमेत रहेका शर्माले अवस्था बदल्न गठबन्धन दलहरू चुनावी मैदानमा आएको स्पष्ट पारे । ‘सत्तामा बसेर हामी सिंहदरबारलाई बदल्ने छौँ, अनि मात्र जनताको चाहना सम्बोधन हुनसक्छ ।’

कार्यक्रममा झापा क्षेत्र १  (१) का उम्मेदवार गोपाल तामाङ, (२) का उम्मेदवार श्यामवीर लिम्बू, झापा, क्षेत्र ३ (१) का उम्मेदवार भूमिप्रसाद राजवंशी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाईँलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुशीला ढकाल, संविधान सभा सदस्य महेन्द्राकुमारी सुब्बा, काँग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, पूर्व उपसभापति राम कट्टेल, माओवादी केन्द्रका प्रदेश नेता डिल्लीराम घिमिरे, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेग्मीलगायतको आतिथ्य रहेको थियो ।

सम्बन्धित समाचार