झापा- ३ : लिङदेन र सिटौलाबीच हात्ती मुद्दामा ‘वाकयुद्ध’, हात्ती पीडितको समस्या जस्ताको त्यस्तै

झापा । आसन्न आम निर्वाचनमा झापा निर्वाचन क्षेत्र ३ बाट उम्मेदवार बनेका दुई शीर्ष नेता राजेन्द्रप्रसाद लिङदेन र कृष्णप्रसाद सिटौला जैविक विविधतायुक्त जलथल जंगलको हात्ती नियन्त्रण तथा रोकथाम मुद्दालाई मुख्य एजेन्डा बनाएर एक अर्कोप्रति ‘वाक युद्ध’ मा उत्रिएका छन् ।
झापा– ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका राप्रपाका अध्यक्ष लिङदेन र काँग्रेस नेता सिटौला (दुवै नेता) अहिले हात्ती नियन्त्रण तथा रोकथामका लागि चारकोशे जलथल जंगलमा मेरो पहलमा सोलार फेन्सिङ (सौर्य विद्युतीय तारबार) जडान भएको भन्दै चुनावी सभाहरूमा खुलेर आम मतदाताबीच ‘वाक युद्ध’ मा उत्रिएका हुन् ।
लिङदेन र सिटौला हात्ती मुद्दा लिएर ‘वाक युद्ध’ गरिरहेता पनि जलथल जंगलबाट निस्किएको हात्तीले जंगल आसपासका गाउँमा वितण्डा नमच्चाएको रात छैन । त्यस क्षेत्रका स्थानीयवासी त्रासमा जीवन बिताउन बाध्य छन् ।
अहिले चुनावको बेला मेरो पहलमा काम भएको भन्दै दुवै शीर्ष नेताहरु हानथाप र गालीगलौजमा उत्रिनु भन्दा पनि यसको दीर्घकालीन समस्याको समाधानमा लाग्नुपर्ने हात्ती पीडित मतदाताहरूको भनाई छ ।
गत कार्तिक ११ गते भद्रपुरमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै राप्रपा अध्यक्ष लिङदेनले पाँच वर्षमा केही काम भएन, केही गरेन, पाँच वर्ष खेर गयो यस क्षेत्रका मतदाताको, यो भएको अलिअलि काम पनि मैले गरेको र मेरो दाइले गरेको भन्दै केही व्यक्तिहरू एक जना ७५ वर्षको बुढो मान्छेलाई डोराएर हिँडिरहेको भनेका थिए । सोही प्रसङ्गमा लिङदेनले थपे, ‘यस क्षेत्रको ठुलो समस्याको रुपमा जलथल जंगलमा जंगली हात्ती अतिक्रमणको समस्या थियो ।’ २०७४ सालको चुनावपछि जलथल जंगलमा सौर्य विद्युतीय तारवारको व्यवस्थापनको सबै कामहरू पूरा भएको बताउँदै उनले आर्थिक वर्ष २०७५÷०७६ मा यी कामहरू भएको दाबी गरेका थिए ।
उनले खातापाता पल्टाउन सकिन्छ । यी योजना कहिले प्रारम्भ भयो । कसले लेखापढी सुरु ग¥यो । कहिले डिपीआर भयो । अहिले सौर्य विद्युतीय तारवार हामीले गरेको भन्दै हिडने मान्छेहरू छन् । म चुनौतीको भाषामा भन्न चाहन्छु । आमाको दूध खाएको कोही बहादुर छोरा छ । ‘र त्यो २०७४ भन्दा अगाडिको योजना हो भनेर प्रमाणित गर्न सक्छ, कि मैले लेखापढी गरेर गरेको हो भने म त्यसको झोला बोकेर हिडन तयार छु,’ उनले भनेका थिए ।
लिङदेनले त्यस्तो कुरा दाबीका साथ बोलेपछि काँग्रेसी नेता तथा कार्यकर्ताहरूले त्यसपछि सामाजिक सञ्जालहरूमा सौर्य विद्युतीय तारवार काँग्रेसकै पहलमा आएको भनी प्रमाणित कागजातहरू हाल्न थाले ।
त्यति मात्र नभई लिङदेनले बोलेको कुराप्रति काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले समेत चुनावी सभाहरूमा खुलेर आक्रोश पोख्न थालेका छन् । सिटौलाले भने, ‘म दावाका साथ भन्छु, बितेको पाँच वर्षमा यस निर्वाचन क्षेत्र केन्द्रीय आयोजनाबाट रित्तै रह्यो, रित्तो, अलिअलि आयोजनाहरू प्रदेश सरकारबाट मात्र आयो ।’ अहिले कुरा उठेको छ हात्ती नियन्त्रण गर्ने सौर्य विद्युतीय तारवारको । ‘हात्ती वारको योजना २०७४ सालको निर्वाचन अघि नै आएको हो,’ उनले भने, ‘जलथल जंगलमा आएर हात्ती बस्न थाल्यो, गाउँमा निस्क थाल्यो, मान्छे मार्ने थाल्यो, अन्नबाली नष्ट गर्न थाल्यो, घर भत्काउन थाल्यो भनेर काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल (हाल भद्रपुर नगरपालिका मेयर) काठमाडौँ पुगेर ममार्फत प्रधानमन्त्रीलाई भेटेका थिए ।’ ‘मैले नै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर हात्ती वारको काम तुरुन्त अघि बढाउनु प¥यो भनेर तोक लगाएर काम अघि बढाएको स्मरण गराउँदै उनले भने, ‘त्यही बेला प्रधानमन्त्री कार्यालयले वन मन्त्रालयलाई पत्र पठायो, वनले योजना आयोगलाई चिठ्ठी काटियो, त्यहाँबाट स्वीकृत प्राप्त भएपछि वनमार्फत अर्थ मन्त्रालयले ८ करोड ८ लाख ९० हजार रुपैयाँ छुट्टायो ।’
२०७४ साल भदौ ५ गते प्रथम चौमासिक बमोजिम तत्कालीन वन कार्यालय झापामा २ करोड रकम निकासा भयो । ‘ठ्याक्कै निर्वाचन घोषण भएको र आचारसंहिता लागेको हुनाले त्यस बेला काम अघि बढ्न सकेन,’ उनले भने, ‘निर्वाचनपछि मात्र हात्ती वारको ग्लोबल टेन्डर निस्किएर काम अघि बढ्यो ।’
अस्ति भर्खरै भद्रपुरमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगै बसेको बेला लिङदेन जीले भनेका थिए कि यो हात्ती वारको बजेट २०७४ सालको निर्वाचन अघि आएको भने सिटौला जीको झोला बोक्छु भन्नुभयो । ‘अब लिङदेन जीले मेरो झोला बोके भयो नि त रु,’ उनले आक्रोश पोखे ।
दुई वर्षदेखि तारबारले काम गर्न छाडियो
रैथाने जंगली हात्तीलाई जलथल जंगलभित्रै थुन्न सरकारले करोडौँ रकम खर्चिएर सौर्य विद्युतीय तारबार जडान गरेको छ । मर्मत सम्भारको अभावका कारण लामो समयदेखि विद्युतीय तारबारले ठाउँ ठाउँमा काम गर्न छाडेपछि जंगल आसपासका स्थानीय त्रसिद् बनेका छन् ।
कचनकवल १ घेराबारीस्थित पश्चिम देउराली सामुदायिक वनबाट सुरु भएको सौर्य विद्युतीय तारबार दुर्गाभिट्टा सामुदायिक वनदेखि भद्रपुरको विशाल सामुदायिक वनसम्म करिब ३७ किलोमिटर जडान गरिएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा सम्पन्न भएको सौर्य विद्युतीय तारबारको योजना दुई वर्ष राम्रै काम ग¥यो ।
त्यसपछि तारबारले काम गर्न छाडेपछि हात्ती फेरि गाउँघरमा पस्न थालेको कचनकवल ७ निवासी फुलमाया तामाङले बताइन् । दीप ज्योति सामुदायिक वन नजिकै बस्दै आएकी तामाङले भनिन्, ‘करेन्ट प्रवाह नहुँदा हात्तीले तारबार भत्काइहाल्छ, अनि गाउँमा फसेर घर भत्काउने, अन्नबाली खाने जस्ता समस्या जस्ताको त्यस्तै छ ।’
जंगलसँग टाँसिएको कचनकवल ७ स्थित सुकुम्वासी बस्तीमा जंगली हात्तीले क्षति पुर्याउँदै आएको स्थानीय लालमहम्मद मियाँले बताए । बस्तीसँग जोडिएको हात्ती तारबारमा करेन्ट नै छैन । ब्याट्रीले काम गर्न छाडेको धेरै भयो । साइरनले पनि काम गर्दैन । ‘ठाउँ ठाउँमा हात्तीले तारबार भत्काइदिएकोले जंगलबाट निस्किएको हात्ती सिधै गाउँ पस्छ,’ उनले भने । केही दिन अघि मात्र हात्ती गाउँ पसेर दुई वटा घर भत्काइ दिएको छ । अबेर राती हात्ती गाउँ पस्दा घरभित्र रहेका केटाकेटी, महिलालाई ज्यान जोगाउनै मुस्किल हुने गरेको स्थानीय कम्रोल आलमले बताए ।
यता स्थानीय वन उपभोक्ता महासंघका अध्यक्ष भीमप्रसाद लुइँटेलका अनुसार हात्ती वारको संरक्षण र संवर्द्धनका लागि डिभिजन वन कार्यालय झापा, स्थानीय पालिकाहरू, सामुदायिक वनहरूमा कुनै जिम्मेवारी नहुँदा समस्या उत्पन्न भएको बताए । संरक्षणको अभावका कारण ठाउँ–ठाउँमा ब्याट्री बिग्रिएको, तार चुँडिएको, पोल भत्किएको जस्तो अनेकौँ समस्याका कारण हात्ती वारले काम गर्न छाडेको बताउँदै उनले भने, ‘दुई वर्ष राम्रै काम ग¥यो, अहिले गाउँमा हात्तीको वितण्डा छ ।’ दुर्गाभिट्टा सामुदायिक वन आसपास भन्दा पनि पश्चिम घेराबारीतर्फ दिनहुँ जसो हात्तीले आतंक मच्चाइरहेको छ ।
घेराबारी र बाह्रदशीतिर हात्ती तारबार अत्यधिक बिग्रिएको छ । ‘जसकारण त्यहाँबाट हात्तीलाई गाउँ पस्न सजिलो भएको छ,’ उनले भने । अर्को समस्या काठ तस्कर र वन्यजन्तुको शिकार गर्नेहरूबाट पनि हात्ती तारबारमा ठुलो क्षति पुगेको उनको भनाई छ ।
मापदण्ड अनुसार तारबार बनेन
राष्ट्रिय प्राकृतिक संरक्षण कोषले ललितपुरको न्यु क्रिएसन इम्पेक्स प्रालिले २०७५ वैशाखमा ४ करोड ७४ लाख रुपैयाँमा सौर्य विद्युतीय तारबार लगाउने ठेक्का दिएको थियो । न्यु क्रिएसन इम्पेक्सले भारतको फेन्ज गार्ड नामक कम्पनीसँगको सहकार्यमा जलथल जंगलमा तारबार लगाएको हो । ६ हजार तीन सय हेक्टर क्षेत्रफलमा फैलिएको जंगललाई २२ वटा सामुदायिक वन उपभोक्ता समूहको जिम्मामा छ । लोपोन्मुख वन्यजन्तुको सूचीमा पर्ने यस जंगलमा एक दर्जन बढी रैथाने हात्ती रहेको स्थानीयको दाबी छ ।
कचनकवल ३ निवासी केशव लुइँटेलले निर्माण कम्पनीले सरकारले तोकेको मापदण्ड अनुसार हात्ती तारबार नबनाउँदा यसले समस्या उत्पन्न भएको बताए । भारतीय फेन्ज गार्डबाट आएका प्राविधिकहरूले ब्याट्री जडित विद्युती टावर ५००– ५०० मिटर भित्र राखिन्छ, जसले करेन्ट प्रवाह राम्रो हुन्छ भनेका थिए,’ लुइँटेलले भने, ‘तरपछि के कारणले उनीहरूले ब्याट्री जडित विद्युती पोल एक किलोमिटरमा टाढा टाढा राख्नुभयो, तार जडित पाइपको पोल पनि नढल्किने गरी बनायो ।’
एक किलोमिटर लामो दुरीमा टावर राख्दा ब्याट्री छिट्टै बिग्रियो । ५ सय मिटरको दुरीमा ब्याट्री राख्दा छिट्टै बिग्रँदैन थियो र करेन्ट प्रवाह भएको तारवार पनि हात्तीले भत्काउन सक्दैन थियो ।
‘निर्माण कम्पनीले सुरुको दिनमा हामीसँग जुन कुरा भनेका थिए, त्यो अनुसारको कुनै पनि काम यहाँ भएको देखिँदैन, यहाँ गुणस्तरहीन काम भएको छ,’ उनले भने । पटक पटक यसको अनियमितता बारे सामाजिक सञ्जालहरूमा कुरा उठाउँदा पनि कहीँ कतैबाट सुनवाइ हुन नसकेको उनको भनाई छ । हात्ती तारबार पहिलो चरणमा झापा क्षेत्र नम्बर ३ अन्तरगत कचनकवल, बाह्दशी, हल्दिबारीको जलथल, भद्रपुरको वडा नम्बर १ र २ सम्म ३७ किलोमिटर र दोस्रो चरणमा विशाल सामुदायिक वनदेखि रंगियाडाँडासम्म साढे ६ किलोमिटर लगाइएको छ ।
डिभिजन वनलाई हेर्ने अधिकार नै छैन
जलथल जंगलमा लगाइएको सौर्य विद्युतीय तारवार हेर्ने आधिकारिक निकाय डिभिजन वन कार्यालय झापा नभएको निमित्त डिभिजन वन प्रमुख जीवन पाठकले बताए । राष्ट्रिय प्राकृतिक संरक्षण कोषमार्फत जलथल जंगलमा हात्ती तारवार लगाइएको हो ।सम्बन्धित निकायले तारबारको स्वामित्व डिभिजन वनलाई जिम्मा नदिएकोले पनि केही जटिलता उत्पन्न भएको पाठकको भनाई छ । जिल्लामा जंगली हात्तीको ठुलै समस्या छ । ‘तारबार लगाइएको क्षेत्रमा मर्मत सम्भारको लागि भनेर कुनै बजेट नै आउँदैन,’ उनले भने, ‘चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट मर्मत सम्भारका लागि ८ लाख बजेट आएको छ, अब त्यो बजेट जलथलमा खर्चिनु की बाहुण्डागीमा ।’ आएको बजेटलाई सबैतिर बाँडेर तारबार मर्मत गर्नुपर्ने हुन्छ । ‘सरकारले आवश्यकता अनुसारको बजेट पठाएको भए सबैतिरको समस्या एकै पटक समाधान हुन्थ्यो,’ उनले भने ।
यता राष्ट्रिय प्राकृतिक संरक्षण कोष कोसी टप्पुका प्रमुख वीरेन्द्र गौतमका अनुसार जलथल जंगलको तारबार मर्मत सम्भारका लागि डिभिजन वन कार्यालय झापाको पहलमा एउटा समिति बनेको छ । अब त्यस समितिलाई केही बजेट निकासा गर्ने र अपुग रकम स्थानीय पालिकाहरूको माग गरेर मर्मत सम्भारको कामलाई तीव्रता दिने उनको भनाई छ ।