हाम्रै नेतालाई चोरेर गठबन्धनले उम्मेदवार बनायो : एमाले अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिचरो गठबन्धनले उम्मेदवार नपाएर हाम्रै घरबाट उम्मेदवार चोरेर लगेको बताएका छन्।
झापाको अर्जुनधारास्थित सालबारी सुखानी पार्कमा मङ्गलबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, 'गठबन्धनले उम्मेदवार कतैबाट पाएन अनि हाम्रै घरबाट तानेर लगेर एक जनालाई उम्मेदवार बनाए छन्, उनीहरूसँग उम्मेदवार नै छैन।'
एमालेबाट गएर झापा २ मा उम्मेदवार बनेका देवराज घिमिरेको एक साधारण कार्यकर्ता मात्र भएको ओलीले प्रस्टाए। अर्को पल्ट गठबन्धन कायम रहँदै होला, रह्यो भने हाम्राबाटै उम्मेदवार पठाइदिने उनले बताए।
'राजनीति गरौँ गरौँ जस्तो लाग्यो, जागिर पनि खाइयो, पेन्सन पनि पाकियो, अथवा पत्रकार पनि भइयो, त्यो पनि दिक्क लाग्यो, अब त माननीय हौं हौं जस्तो लाग्यो भनेर राजनीतिमा आएको व्यक्ति एमालेका उम्मेदवार घिमिरे पटक्कै होइन,' ओलीले भने, 'साबिक मेची अञ्चलका आधा बढी परिवारले घिमिरेलाई नजिकबाट चिन्दछन्, ४७ सालदेखि पार्टीमा लागेका उनले चुनावी जित्न घरदैलो गरिरहनुपर्ने जस्तो मलाई लाग्दैन।'
झापा २ सहिद र धार्मिक भूमि हो। यही भूमिबाट विद्रोह गरी पञ्चायत ढालेर देशमा लोकतन्त्र र गणतन्त्र स्थापना भएको उनले स्मरण गराए। 'देशमा नाकाबन्दी खुलाएँ, उत्तरबाट बाटो खुलाएँ। अहिले नेपाल ताला लगाएको नेपाल होइन, अहिले खुला नेपाल हो। ुत्यो स्थिति म प्रधानमन्त्री हुँदा गरेको हुँ,' उनले भने।
एमाले काम गर्ने, बुढाबुढी तथा छोराछोरी हेर्ने पार्टी भएको उनले दावी गरे। 'हामीले चुनावी घोषणापत्रको २० ग्यारेन्टी मै ती सबै कुरा अटाएका छौँ।' 'आगामी दिनमा २० गरेन्टी हामी पूरा गर्छौं, त्यसमा तपाईँहरू ढुक्क हुनुहोस्,' उनले भने।