आज देशभर मध्यमदेखि भारी वर्षा हुने
नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण देशभरि सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राति पनि प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशहरूमा सामान्य देखि पुर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।