बिर्तामोड बसपार्कमा यात्रुबाट बढी भाडा असुल्ने सवारीसाधनलाई कारबाही
झापा । बिर्तामोड बसपार्कमा दसैँको मौका छोपेर यात्रुहरूबाट बढी भाडा असुल्ने ७ वटा यात्रुवाहक सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
बिर्तामोडबाट इलामलगायत पहाडी क्षेत्रतर्फ जाने साना सवारीसाधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी निरीक्षक अशोक जवेगुले बताए । काउन्टरमा टिकट काट्न नदिई निर्धारित भन्दा बढी भाडा असुल्ने , रिजर्भमा मात्र जान खोज्ने सवारीसाधनलाई कारबाही गरिएको उनले बताए । कतिपय सवारीसाधनबाट असुलिएको बढी भाडा यात्रुलाई फिर्ता गराएको समेत जवेगुले जानकारी दिए । बिर्तामोड बसपार्कमा दसैँमा इलाम फर्किने यात्रुलाई सवारीसाधनहरूले धेरै दुःख दिएको गुनासो छ ।
रिजर्भ भए जाने, नभए नजाने सर्त चालकले राख्ने , बिर्तामोडदेखि इलामसम्मको भाडा दर रु ४३० रहेकोमा १००० भाडा माग्नेजस्ता समस्या यात्रुहरूले भोगेका छन् । सवारीसाधनहरूले रु ४३० को ठाउँमा ५०० असुलिरहेको यात्रुहरूले बताएका छन् ।बढी भाडा लिने सवारीलाई ५०० देखि एक हजारसम्म जरिवाना गरिएको छ ।
चाडबाडमा यात्रुहरू समस्यामा नपरुन् र नठगिउन् भनेर जिल्लाका १२ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । काँकडभिट्टा , धुलाबारी , चारआली, बुधवारे ,बिर्तामोड बसपार्क , लक्ष्मीपुर,सुरुङ्गा , झिलझिले,केर्खा , दमकलगायतका स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी निरीक्षक जवेगुले बताए । यात्रुहरूलाई सुरक्षित गन्तव्यसम्म यात्रा गराउन चार सिफ्टमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ । बिहान ७ देखि १० , ११ देखि दिउँसो २ , ३ देखि साँझ ६ र ७ देखि राति १० बजेसम्म चेकजाँच गरिरहेको जवेगुको भनाई छ ।