झापा-१ मा शर्मा र कोइरालाबीच रोचक प्रतिस्पर्धा, हारमा ‘ह्याट्रिक’ हुँदैन : शर्मा

सुरेन्द्र भण्डारी । नेपाली कांग्रेससहितको गठबन्धनको निर्णयले झापा १ कांग्रेसको भागमा परे कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमाले नेता रवीन कोइरालाबीच उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसले शर्मा र एमालेले कोइरालासहितको नाम सिफारिस गरेको छ । गठबन्धनबीच पहिले निर्वाचित उम्मेदवार र पार्टीको भागमा सो क्षेत्र परे माओवादीका सुरेन्द्रकुमार कार्की (पार्थ) उम्मेदवार हुने सम्भावना पनि उत्तिकै छ ।
संविधानसभाको दोस्रो निर्वाचन (२०७०) मा झापा क्षेत्र नम्बर १ बाट विश्वप्रकाश शर्मालाई झिनो मतान्तरले पराजित गर्दै रवीन कोइराला निर्वाचित भए । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट चुनावी प्रतिस्पर्धा गरेका कोइरालाले नेपाली कांग्रेसका नेता शर्मालाई पराजित गरेका थिए । राजनीतिमा चतुर खेलाडीका रुपमा आफूलाई स्थापित गरेका कोइरालाले कांग्रेस नेता शर्मालाई ६८९ मतले पराजित गरेका थिए । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा यस पटक तिनै दुई नेताबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा शर्मालाई पराजित गरेका कोइराला यस पटक पनि एमालेका तर्फबाट उम्मेदवार छन् ।
नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्मा झापा क्षेत्र नम्बर १का लागि एकल सिफारिस भएसँगै उनीहरुबीच पुनः प्रतिस्पर्धा हुन लागेको हो । नेकपा एमालेबाट पनि कोइराला एकल उम्मेदवारका रुपमा सिफारिस भएका हुन् । एमालेको विरासत जोगाउने दाउमा देखिएका कोइराला, चुनावी रणनीतिका साथ अहिले मैदानमा निस्किएका छन् ।
यता नेकपा (एमाले) विरुद्ध सिङ्गो सत्तारुढ गठबन्धन दल चुनावी मैदानमा उत्रने भएकाले एमालेलाई पराजित गर्दै नेतृत्व आफ्नो पक्षमा लिने दाउमा शर्मा रहेका छन् । तर, स्थानीय तहको निर्वाचनमा एमालेको वर्चस्व कायम रहेकाले शर्मालाई पछि पार्न सकस नहुने कोइरालाको ठम्याइ छ । झापा क्षेत्र नम्बर १मा मेचीनगर नगरपालिकासहित बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ तथा भद्रपुर नगरपालिकाको ९ र १० पर्छन् । गत स्थानीय तहको निर्वाचनमा यहाँका कूल २१ वटामध्ये एमाले एक्लैले १४ वटा वडा जितेको छ । स्थानीय तहको निर्वाचनमा यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले) ले ३१ हजार २ सय ५२ मत ल्याएको थियो भने नेपाली कांग्रेसले २४ हजार ५९ मात्र ल्याएको थियो ।
यता माओवादी केन्द्रले ३ हजार ९ सय ५ मत प्राप्त गर्दा एक जना स्वतन्त्र उम्मेदवारले १ हजार ५४ र राप्रपाले ५ हजार ८ सय १ मत पाएका थिए । स्वतन्त्र र राप्रपा छोडेर गठबन्धनको मत जोड्ने हो भने पनि २ हजार ५ सय २ मतले नेकपा (एमाले) अघि छ । तर, स्थानीय तहको निर्वाचन जस्तो संसदीय निर्वाचन नहुने भएकाले शर्माको जीत निश्चित रहेको एक थरी विश्लेषकको विश्लेषण छ । यता नेकपा (एमाले)ले आफ्नो विरासत जोगाई राख्न धेरै कसरत गरिरहनु नपर्ने दाबी गर्दै आएका छन् । सबैमाझ प्रिय र कुटिलताकै कारण यस पटक पनि कांग्रेस नेता शर्मालाई पराजित गर्न कोइराला सक्षम हुने एमाले वृत्तमा विश्लेषण हुँदै आएको छ ।
स्थानीय तहको निर्वाचनको तथ्याङ्कलाई आधार मान्दा यो निर्वाचन क्षेत्रका रहेका वडामध्ये एमाले एक्लैले १४ वटा वडा जितेको र गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसले ६ र नेकपा माओवादी केन्द्रले एउटा वडामा जित हासिल गरेका थिए । बुद्धशान्ति गाउँपालिकामा अध्यक्ष पद नेपाली कांग्रेसले सुरक्षित गरेको छ भने उपाध्यक्ष तथा बहुमत कार्यपालिका सदस्य नेकपा (एमाले) ले हात पारेको छ ।
मेचीनगरमा कांग्रेसले मेयर, उपमेयर तथा ११ वटा वडाध्यक्ष पद गुमाएको छ भने नेकपा माओवादी केन्द्रले एउटा मात्रै वडाध्यक्ष पद जित्नुले पनि यहाँ एमाले बलियो शक्तिका रुपमा रहेको प्रस्ट छ । त्यसो त २०७४मा भएको प्रतिनिधिसभाको निर्वाचनमा समेत झापा १ मा कांग्रेस नेता शर्मा पराजित भएका थिए । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार राम कार्की ‘पार्थ’ सँग पराजित बनेका थिए । त्यो वेला बाम गठबन्धन भएर निर्वाचन भएको थियो ।
वाम गठबन्धनकातर्फबाट बौद्धिक एवम् तार्किक क्षमता भएका भनेर चिनिएका कार्कीको उम्मेदवारी नेपाली कांग्रेसका विश्वप्रकाशका लागि ठुलो चुनौती बनेको थियो । यस पटक पनि नेकपा माओवादी केन्द्रबाट उनकै नाम एकल सिफारिस हुनु र टिकट बाँडफाँडको टुङ्गो नलागेसम्म यो निर्वाचन क्षेत्रमा के हुने भन्ने यकिन हुन सकेको छैन ।
शर्माले आफू झापा १बाट मात्रै चुनाव लड्ने यसअघि नै घोषणा गरिसकेको र सत्तारुढ गठबन्धनको निर्णयले जुन क्षेत्रमा जुन पार्टीले यसअघिको निर्वाचनमा जित हासिल गरेको छ, सोही पार्टीलाई टिकट दिने मौखिक सहमति अनुरूप शर्मा र कार्कीको टिकटमै अन्योल छ । तथापि नेकपा (एमाले)बाट भने कोइराला नै मैदानमा उत्रने निश्चित भएको छ । २०४८ साल यता भएका पाँच पटकका निर्वाचनमा एक पटक मात्र नेपाली कांग्रेसले यो निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो ।
विगतका निर्वाचनलाई फर्किएर हेर्दा २०४८ सालको निर्वाचनमा नेकपा (एमाले)का राधाकृष्ण मैनाली, २०५१ सालमा देवीप्रसाद ओझा र २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा एमाले) का नेता रवीन कोइराला निर्वाचित भएका थिए भने संविधानसभाको पहिलो निर्वाचनमा माओवादीका धर्म घिमिरे निर्वाचित भएका थिए ।
२०५६ सालको निर्वाचनमा भने नेपाली कांग्रेसका नेता नरेन्द्रविक्रम नेम्वाङ विजयी भएका थिए । त्यस बेला नेम्वाङले नेकपा (एमाले) का नेता विष्णु प्रसाईँलाई पराजित गरेका थिए । यस पटक पनि शर्माले कोइरालासँगै प्रतिस्पर्धा गर्नुपर्ने निश्चित जस्तै देखिएको छ । जसका कारण झापा क्षेत्र नम्बर १ सबैका लागि चासोको विषय बनेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालका अनुसार झापा क्षेत्र नम्बर १ मा मतदाताको सङ्ख्या ७१ हजार नौ सय ७७ रहेको छ । यो निर्वाचन क्षेत्रको १ को (१) मा पुरुष मतदाताको सङ्ख्या ३६ हजार १ सय ९८ र महिला मतदाताको सङ्ख्या ३५ हजार ७ सय ७९ रहेको छ ।
यो निर्वाचन क्षेत्रका लागि मतदान स्थल २८ र मतदान केन्द्र ८० वटा रहेका छन् । १को (२) मा मतदाताको सङ्ख्या पुरुषतर्फ २४ हजार ३९ रहेको छ भने महिला मतदाताको सङ्ख्या २४ हजार तीन सय ५९ गरी ४८ हजार तीन सय ९८ रहेको छ । यो निर्वाचन क्षेत्रमा १७ मतदान स्थल र ५४ वटा मतदान केन्द्र रहेका छन् । यता कांग्रेस वृत्तमा स्थानीय तहको मतको असर प्रतिनिधिसभाको निर्वाचनमा पनि देखिने चर्चा छ । कांग्रेसमा प्रभावशाली छवि बनाएका पार्टीका जिल्ला उपसभापति केशवराज पाण्डेको भूमिकाले शर्माले ल्याउने मत परिणाममा असर पर्न सक्ने आंकलन गरिँदैछ । स्थानीय तहको निर्वाचनमा मेचीनगरमा मेयर पदका लागि पाण्डेले टिकट पाएको अवस्थामा शर्माले उनको टिकट खोसेको आरोप लागेको छ ।
तर, पार्टी उपसभापति पाण्डेले जुनसुकै हालतमा भए पनि शर्मालाई यस पटक प्रतिनिधिसभामा निर्वाचित गराएरै छाड्ने बताउँदै आएका छन् । स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय बमोजिम नै आफूपछि सरेको बताउँदै आएका उनले पार्टीभित्र कुनै विभाजनको स्थिति नरहेकाले शर्माको जित निश्चित रहेको दाबी गरेका छन् ।
हारमा ‘ ह्याट्रिक हुँदैन : शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मङ्सिर ४मा हुने निर्वाचनमा नेपाली कांग्रेसले झापा १मा जसरी पनि जित हासिल गर्ने दाबी गरेका छन् । उनले झापा १ मात्र नभई देशका अधिकांश स्थानमा सत्तारुढ गठबन्धन दलले परिणाम आफ्नो पक्षमा पार्ने बताए ।
झापा १को सन्दर्भमा कुरा गर्दै नेता शर्माले आफूले यस पटक चुनाव जित्नेमा कुनै शंका नरहेको बताएका छन् । उनले भने– मेरा लागि ‘यो तेस्रो पटकको ट्रायल हो, तेस्रो पटकमा राँगो त छिन्छ, यस पटक नतिजा कसरी मेरो पक्षमा नपर्ला ? यो पटक आफूले जसरी पनि चुनाव जित्ने दाबी गरेका शर्माले सबै झापालीको साथ र समर्थनमा आफूले झापा १ बाट चुनाव जितेरै देखाउने बताए । उनले भने– ‘अब हारमा मेरो ह्याट्रिक हुँदैन, नेपाली कांग्रेसले जुनसुकै हालतमा निर्वाचन जित्छ ।’