काँग्रेसको समानुपातिक उम्मेदवारको सूचिमा झापाबाट प्रसाईँ र थापा

नेपाली काँग्रेसको समानुपातिक उम्मेदवारको बन्द सूचीमा झापाका सरिता प्रसाईँ र उद्धव थापा परेका छन् । सङ्घीय निर्वाचनका लागि ती दुईको नाम समानुपातिक उम्मेदवारको रुपमा बन्द सूचीमा अटाइएको हो । प्रसाईँ झापा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फको आकाङ्क्षी थिइन् । उनी समानुपातिकमा गएपछि अब पूर्व मन्त्री तथा पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले टिकट पाउने निश्चित जस्तै भएको छ । काँग्रेस केन्द्रीय सदस्य प्रसाईँ पूर्व कृषि राज्यमन्त्री हुन्। गत निर्वाचनमा उनी प्रदेश १ बाट राष्ट्रियसभा सदस्य विजयी भएकी थिइन्।
काँग्रेसका प्रदेश सभापति थापाले यस पटक प्रत्यक्षतर्फ उठ्ने इच्छा गरेनन् । काँग्रेसको २ नं क्षेत्रीय समितिले यस पटक झापा क्षेत्र नं २ मा उनलाई समानुपातिकतर्फ सिफारिस गरेको थियो । अघिल्लो संसदीय निर्वाचनमा थापा २ नं क्षेत्रबाट उम्मेदवार बनेका थिए । त्यस निर्वाचनमा एमालेकी पवित्रा निरौला खरेल निर्वाचित भएकी थिइन् । विजयी निरौलाले ४५ हजार ८ सय १७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थापाले ३२ हजार ५० मत प्राप्त गरेका थिए ।