२०७९ आश्विन १५ गते , शनिबार

राजस्व प्रमुखद्वारा भारतीय चालकलाई दुर्व्यवहार, विरोधमा काँकडभिट्टा-पानीटंकी नाकामा नेपाली सवारी साधनमाथि अवरोध

sajilo news
झापा
२०७९ आश्विन १ गते , शनिबार
राजस्व प्रमुखद्वारा भारतीय चालकलाई दुर्व्यवहार, विरोधमा काँकडभिट्टा-पानीटंकी नाकामा नेपाली सवारी साधनमाथि अवरोध

झापा । नेपाली भूमिमा भारतीय चालकलाई दुर्व्यवहार गरिएको भन्दै त्यसको विरोधमा शुक्रबार साँझ भारतको पानीट्यांकीमा नेपाली नम्बर प्लेटका सावरीसाधनमाथि अवरोध गरिएको छ। 

भारतीय चालकको आन्दोलन र अवरोधका कारण पानीट्यांकी हुँदै झापाको काँकडभिट्टा नाका भएर भन्सार जाँचपासका लागि नेपाल भित्रिने तयारीमा रहेका दर्जनौं सवारीसाधन २ घण्टासम्म भारतीय भूमिमै रोकिएका थिए। 

सिलिगुडीबाट इन्धन बोकेर आएका ३९ वटा र ६० वटाभन्दा बढी मालबहाक सावरीसाधनलाई भारतको पानीट्यांकीमै अवरोध गरेर नेपाल प्रवेशमा रोक लगाइएको प्रहरीले जनाएको छ। 

आन्दोलित बनेका भारतीय चालकहरूले साँझ ७ बजेदेखि राति ९ बजेसम्म नेपाली नम्बर प्लेटका मालबहाक सवारीसाधनलाई अवरोध गरेर नेपाल प्रवेशमा रोक लगाएको झापा प्रहरीका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए। 

'इन्धन र अन्य मालसामान लिएर नेपाल भित्रिने तयारीमा रहेका गाडीलाई भारतीय भूमिमै अवरोध गरिएको पाइयो,' उनले भने, 'अवरोध गर्नुको कारण भने थाहा भएन।' 

नेपाली महालबहाक सवारीसाधनलाई भारतीय भूमिमै अवरोध गरिएपछि नाका प्रभावित बनेको थियो। नेपाल तथा भारतीय प्रहरीको समन्वय र सहयोगमा चालकहरू पछि आन्दोलन फिर्ता लिन सहमत भएका थिए। 

अवरोध हटेर नाका सुचारु भएपछि भने सवारी आवागमन सहज रूपमा भइरहेको डीएसपी पाठकले जानकारी दिए।  प्रहरीका अनुसार नेपाली भूमिमा भारतीय चालकलाई बारम्बार दुर्व्यवहार, हातपात तथा कुटपिट गर्ने, अनआवश्यक दुःख दिने र भारतीय गाडीलाई बिना कारण पक्राउ गर्ने गरिएको भन्दै चालकहरू आन्दोलित बनेका थिए। 

आन्दोलनका क्रममा भारतीय चालकहरूले अवरोध गरेर मालबहाक नेपाली सवारीसाधनलाई नेपाल प्रवेश गर्न नदिएको प्रहरीले जनाएको छ। 

नेपाली भूमिमा भारतीय चालकमाथि भइरहेको दुर्व्यवहारको अन्त्य हुनुपर्ने र बिना कारण पक्राउ गरिएका गाडी छाड्नुपर्ने माग राखेर भारतीय चालक आन्दोलित बनेका हुन्। 

प्रहरीका अनुसार नेपाल प्रवेश गरेका चालकमाथि भइरहेको दुर्व्यवहारका बारेमा भारतीय पक्षले आफ्नो ध्यानआकर्षण भएको जनाएको छ। 

भारतीय चालकलाई कुटपिट एवं दुर्व्यवहार गर्ने गरेको आरोप भने राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थराज खनालमाथि लागेको छ। 

घटना अनुसार पूर्व-पश्चिम लोकमार्गअन्तर्गत इटहरीको राजस्व कार्यालयअगाडि गत बिहीबार साँझ ७ बजेतिर खनालले दुईवटा भारतीय पिकअप भेन रोक्न खोजेका थिए। 

सादा पोसाकमा रहेका उनले हातको इशाराले पिकअप रोक्न खोजे। तर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका डब्लु बी ७३ ई ९०३६ र डब्लु बी ७४ जी १४२७ नम्बरको पिकअप रोकिएनन्। 

तत्काल आफ्नो कार्यालयको गाडी मगाएर खनालले दुवै पिकअपको पिछा गरे। तस्करीका सामान नेपाल भित्राएको भन्दै दुवै पिकअपलाई नियन्त्रणमा लिन झापा र मोरङका प्रहरीसँग सहयोग पनि मागे। 

मोरङको बेलबारीमा ट्राफिक प्रहरीले नियन्त्रणमा लियो। पिकअप खाली थिए। प्रहरीले आवश्यक सोधपुछ गर्दै गर्दा राजस्व प्रमुख खनाल पनि त्यहाँ पुगे। 

डब्लु बी ७३ ई ९०३६ नम्बरको पिकअपका चालक भारत दार्जिलिका ३३ वर्षीय नारायण मोडकलाई उनले हातपात एवं दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ। 

प्रत्यक्षदर्शीका अनुसार दुर्व्यवहार हुन थालेपछि अर्को गाडीका चालक भने त्यहाँबाट फरार बनेका थिए। खनालले दुवै पिकअपलाई नियन्त्रणमा लिएर दुई दिनसम्म राजस्वमा राखेका थिए। 

बिना कारण खाली पिकअप नियन्त्रणमा लिएको भन्दै चौतर्फी विरोध भएपछि माथिबाटै छाड्नलाई निर्देशन आएको स्रोतले बतायो। भारतीय भूमिमा भएको आन्दोलन र माथिको निर्देशनसँगै दुवै गाडीलाई शनिबार दिउँसो २ बजेतिर छाडिएको छ। 
प्रहरीका अनुसार चालक मोडकले भने पैदलयात्रीले रोकेजस्तो लागेर र सरकारी निकायका अधिकारी भन्ने थाहा नभएर आफूहरू गाडी नरोकिकन गन्तव्यतिर लागेको बताएका छन्।

खनाल नेतृत्वकै राजस्वको टोलीले त्यसको अघिल्लो दिन अर्थात बुधबार राति मोरङको बेलबारीस्थित भाउन्नेबाट शब्जी र फलफूल लोड गरिएका ४ वटा भारतीय गाडी नियन्त्रणमा लिएको थियो। त्यस क्रममा पनि गाडीका चालकलाई दुर्व्यवहार र हातपात गरेको आरोप खनालमाथि लागेको छ। 

'सवारी चालकले कुनै गल्ती गरेको भएमा सम्झाई बुझाई गर्दा हुन्थ्यो। कानुन अनुसार कारबाही गर्ने बाटो खुला छ,' घटनाका प्रत्यक्षदर्शी एक प्रहरीले भने, 'तर राजस्व प्रमुख सडकमै चालकमाथि कुटपिट, गालीगलौज र दुर्व्यवहारमा उत्रिनु ठीक हैन।' 

खनालबाट बारम्बार यस्तो गल्ती दोहारिरहेको छ।' प्रहरीका अनुसार चालकहरूलाई अश्लिल शब्दले गाली गर्दै खनाल सडकमै दुर्व्यवहार र हातपातमा उत्रिने गरेका छन्। 

कार्यालयमा सेवाग्राहीलाई दुर्व्यवहार तथा अश्लिल शब्दले गाली गर्ने र दुःख दिने काम खनालबाट भइरहेको एक कर्मचारी बताउँछन्। उनका अनुसार सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने काम पनि भइरहेको छ। 

कानुन कार्यान्वयन गर्ने गराउने क्रममा गलत शैली अपनाउने गरेको भनेर खनालको आलोचना हुँदै आएको छ। 'व्यक्तिगत हिसाबमा उहाँ (खनाल) धेरै आक्रोसित बन्नु हुन्छ। उहाँसँग काम गर्न सहज छैन,' ती कर्मचारीले भने, 'अश्लिल शब्द बोल्ने र सेवाग्राहीलाई थर्काउने उहाँको स्वभाव छ। जसका कारण काम गर्न असहज भइरहेको छ।'

खनालले भने तस्करीमा संलग्न भएको र अवैध हिसाबले नेपाल छिरेका कारण भारतीय गाडीलाई नियन्त्रणमा लिइएको बताए। चालकलाई आफूले दुर्व्यवहार नगरेको र उल्टै गाडीले ड्युटीमा खटिएका प्रहरीलाई ठक्कर दिन खानेको उनको भनाइ छ। अनुसन्धानका लागि गाडी नियन्त्रणमा लिइएका गाडी शनिबार दिउँसो छाडिएको जानकारी खनालले दिए। 

'इटहरीमा रोक्न खोज्दा भारतीय गाडी फरार बनेपछि पछ्याउँदै म पनि गएँ। मोरङको बेलबारीमा प्रहरीले रोकेर राखेका रहेछन्,' उनले भने, 'म आफैँ त्यहाँ पुगें। तर कसैलाई पनि दुर्व्यवहार गरिन।' खनालले आफ्नाविरुद्ध लागेकाहरूले गलत हल्ला फैलाइरहेको पनि बताए। 

सम्बन्धित समाचार