२०७९ आश्विन १५ गते , शनिबार

कचनकवलमा पक्राउ परेका गायक मुसेवाला हत्याकाण्डका तीन 'सुटर' त्यतिकै छुटे, प्रहरीले सुइँको समेत पाएन

sajilo news
पार्थ मण्डल
२०७९ भाद्र २६ गते , आईतबार
कचनकवलमा पक्राउ परेका गायक मुसेवाला हत्याकाण्डका तीन 'सुटर' त्यतिकै छुटे, प्रहरीले सुइँको समेत पाएन

झापा  । झापाको कचनकवलमा बच्चा चोर्न आएको आरोपमा पक्राउ परेका तीन जना भारतीय नागरिक पन्जाबी चर्चित गायक सिद्धू मुसेवाला हत्याकाण्डमा संलग्न फरार आरोपी रहेको खुलेको छ । 
पक्राउ परेका तीन जना हत्याकाण्डका आरोपी रहेको सुइँको समेत नपाइ जिल्ला प्रहरी कार्यालय झापाले उनीहरूलाई त्यत्तिकै छाडिदिएको छ । 
गत भदौ २३ गते दिउँसो १२ बजे गाउँलेको सहयोगमा सीमा प्रहरी चौकी केचनाले तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो । उनीहरूले प्रहरीलाई अर्को नाम हेमन्त, सुमित र राजेन्द्र लेखाएका थिए । उनीहरूसँग ती नामको नक्कली आधार कार्ड पनि थियो । तर,  तिनीहरूको वास्तविक नाम दीपक पण्डित, राजेन्द्र उर्फ जोकर र दीपक मुण्डीका हो । जो हत्याकाण्डका फरार सुटर हुन् । 
नेपाल–भारतको १२२ सीमा पिलर नजिकै भारतीय गाउँलेहरूले बच्चा चोर्न आएको आशङ्कामा उनीहरूलाई खेदाउँदै नेपालतर्फ छिराएका थिए ।  त्यसपछि कचनकवल गाउँपालिका–४ स्थित भटियागाउँका स्थानीयले तीन जनालाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्दै प्रहरीलाई जिम्मा लगाए । 
गाउँले कारबाहीको माग गर्दै सीमा प्रहरी चौकी घेराउ गर्दै नाराबाजी समेत गरेका थिए । घटना भए लगतै भारतीय सुरक्षाकर्मी र पत्रकारको टोली पनि घटनास्थल आइपुगेका थिए । 
घटनास्थल तनावग्रस्त बनेपछि सीमा प्रहरी चौकीले तीनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको थियो ।  प्रहरीले उनीहरूको आवश्यक अनुसन्धान नै नगरी सोही दिन आफन्तजनलाई जिम्मा लगाइदिएको छ ।   घटना घटेको भोलिपल्ट भदौ २४ गते तीनै जनालाई आफन्तजनलाई जिम्मा लगाइदिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले बताए ।
‘बच्चा चोर्न आएको आरोपमा तिनीहरूलाई केचनाबाट पक्राउ गरी जिल्ला ल्याएको हो,’ एसपी पोखरेलले भने, ‘घटना सामान्य रहेकोले उनीहरूलाई सोधपुछ गरी आफन्तजनलाई जिम्मा लगाएको हो ।’ पक्राउ परेका उनीहरू त पन्जाबी चर्चित गायक मुसेवाला हत्याकाण्डका सुटर हुन भन्ने बारेमा टाइम्स अफ प्रदेशकर्मीले जिज्ञासा राख्दा एसपी पोखरेलले भने, ‘त्यस बारेमा मलाई थाहा भएन, अहिले तपाईँकै मुखबाट यो कुरा सुन्दैछु ।’ एसपी पोखरेलले यस बारेमा टाइम्स अफ प्रदेशकर्मीसँग थप कुरा गर्न चाहनु भएन, बिजी छु भन्दै फोन राखिदिनु भयो । 
झापा प्रहरीबाट छुटेर भारतीय भूमि टेक्न साथ भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरी पन्जाबतर्फ लगिसकेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । 
डिजीपी पञ्जाल पुलिसको आधिकारिक ट्विटर पेजमा तीनै जना आरोपीको फोटो र नामसहितको विवरण दिएर सो घटना बारेमा उल्लेख गरिएको छ । पन्जाब पुलिस,  दिल्ली प्रहरी र केन्द्रीय एजेन्सीको संयुक्त कारबाहीमा सफलता प्राप्त भएको ट्विटमा लेखिएको छ । 
तीनै जनाको फोटो पन्जाब पुलिसले सार्वजनिक गरेपछि मात्र कचनकवलमा पक्राउ परेका आरोपी सुटरको पहिचान खुलेको हो । 
उनीहरू नेपाल प्रवेश गर्न लागेका थिए । तर, बच्चा चोरको आरोपमा गाउँले पक्राउ गरेपछि उनीहरूको गोप्य पहिचान खुलेको बताइएको छ । 
गत जेठ १५ गते साँझ पन्जाबको मनसा जिल्लास्थित जवाहरेक गाउँमा एएन–९४ रुसी एसल्ट राइफल प्रहार गरी गायक मुसेवालाको बीभत्स हत्या गरिएको थियो । 

सम्बन्धित समाचार