२०८१ बैशाख १४ गते , शुक्रबार

प्रहरीको पीडा : कतै अन्यत्र बास, कतै जीर्ण भवन, २७ महिनामा पनि बनेन नयाँ भवन

sajilo news
पार्थ मण्डल
२०७९ भाद्र १७ गते , शुक्रबार
प्रहरीको पीडा : कतै अन्यत्र बास, कतै जीर्ण भवन, २७ महिनामा पनि बनेन नयाँ भवन

झापा । झापाको गौरादहस्थित प्रहरी चौकी कोहोबराको आफ्नो कार्यालय भवन नहुँदा त्यहाँ खटाइएका प्रहरी कर्मचारी अन्यत्र बाँस बस्नु पर्ने बाध्यता छ । 
पुरानो कार्यालय भवन जीर्ण बनेपछि विगत ५ वर्षदेखि प्रहरी चौकी कोहोबरामा कार्यरत प्रहरी कर्मचारी गौरादह नगरपालिका–६ स्थित स्वास्थ्य चौकीको भवनमा बस्दै आएको छ । जनताको सेवामा अहोरात्र खटिने प्रहरी कर्मचारीको बसोबासलाई समस्यालाई मध्यनजर गरी नगरपालिकाले सहजीकरण गरी स्वास्थ्य चौकीको माथिल्लो तला प्रहरी कर्मचारीलाई बस्न दिएको हो । 
स्वास्थ्य चौकीदेखि कोहोबरास्थित डामुना बजारको दुरी चार किलोमिटर पर्छ । प्रहरी कर्मचारी चार किलोमिटर धाएर बजारको शान्ति सुरक्षा खटिनु पर्ने बाध्यता छ । प्रहरी चौकी कोहोबराको नयाँ भवन निर्माणका लागि २७ महिनाअघि ठेक्का लागेको थियो । जुन प्रहरी भवन डामुना बजारमै बन्दैछ । विगत ६ महिनादेखि निर्माण कम्पनी सम्पर्कविहीन हुँदा अहिले निर्माणाधीन भवन अलपत्र अवस्थामा छ । 
प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेटबाट सो भवन बन्न लागेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक डीएसपी वसन्त पाठकले जानकारी दिए । सो भवनको ठेक्का गोदार निसे फिदिमले २०७६ साल जेठ १२ गते लिएको हो । १ करोड २६ लाख २ हजार ८ सय ९२ रुपैयाँ ७२ पैसामा ठेक्का लिएको गोदार निसेले २०७७ जेठ १९ गते भवन निर्माण सक्नुपर्ने भनी सम्झौता गरेको छ । भवनको झ्याल ढोका, टायल्सको काम, रंगरोगन र फिनिसिङको काम अझै बाँकी नै छ । 
प्रहरी चौकी कोहोबराका प्रहरी सहायक निरीक्षक (असई) काजीबाबु कार्कीका अनुसार विगत ६ महिनादेखि निर्माण व्यवसायी सम्पर्क नआएको र अहिले भवन अलपत्र अवस्था रहेको जानकारी दिए । 
त्यस्तै झापा गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय कुमरखोदको निर्माणाधीन कार्यालय भवन पनि विगत लामो समयदेखि अलपत्र अवस्था छ । सो भवनको ठेक्का टक्सार निर्माण सेवा प्रालि काठमाडौँले २ करोड ३५ लाख ८७ हजार ६ सय २८ रुपैयाँ ८४ पैसामा लिएको हो । 
२०७६ जेठ १६ गते सम्झौता गरेको टक्सार निर्माणले सो भवन २०७८ चैत मसान्तमा सक्नुपर्ने थियो । तर, अहिलेसम्म काम सकेको छैन । झ्याल ढोका, रंगरोगन लगायतको काम अझै बाँकी छ । निर्माण कम्पनीले १२ महिनामा बनाइ सक्नुपर्ने भवन २७ महिना सकिन लाग्दा समेत अधुरै छाडिदिएको छ । 
यता पुरानो त्यसमाथि जीर्ण कार्यालय भवनमा बस्दा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई ज्यानकै जोखिम रहेको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण भट्टराईले जानकारी दिए । वि.सं. २००१ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालयको जीर्ण भवनको छतबाट पानी चुहिने, सिमेन्टका ढिक्का खस्न थालेको छ । प्रहरी कर्मचारी भन्छन्, ‘भवनभित्र सुत्दा कति खेर प्लास्टर खस्ने हो भन्ने डर मान्दै सुत्नु पर्छ ।’
त्यसैगरी मेचीनगर नगरपालिका– ६ स्थित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र कनकाई नगरपालिका–९ स्थित इलाका प्रहरी कार्यालय घैलाडुब्बाको निर्माणाधीन कार्यालय भवन पनि अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । 
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको भवनको ठेक्का याक्थुहाङ÷एटठ.ए.एस÷पुष्कर जेभीले २ करोड ८३ लाख ३४ हजार ६ सय ४१ रुपैयाँ ६८ पैसामा लिएको हो ।  २०७६ साल बैशाख २० गते सम्झौता गरेको सो कम्पनीले २०७७ जेठ १ गतेसम्म भवनको निर्माण सम्पन्न गर्नुपर्ने हो । हालसम्म सो कम्पनीले २ करोड २३ लाख २२ हजार ३० रुपैयाँ ४५ पैसा भुक्तानी लगिसकेको छ । 
निर्माण सुरु गरेको सो कम्पनीलाई पटक–पटक तागेदा गर्दा बल्ल २६ महिनापछि काम सम्पन्न गरेको छ । काम सम्पन्न गरेपनि हालसम्म भुक्तानी फछौट नभएको जनाइएको छ । निर्माण कम्पनीले लगभग काम सकिसकेको बताउँदै इलाका प्रहरी कार्यालय काँकडभिट्टा प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोले भने, ‘पुरानो कार्यालय भवन भत्काई अहिले नयाँ भवनबाटै कामकाज थालेका छौँ, भवन हस्तान्तरको प्रक्रियासँगै उद्घाटन हुन बाँकी छ ।’ 
त्यस्तै इलाका प्रहरी कार्यालय घैलाडुब्बाको भवनको ठेक्का टक्सार निर्माण सेवा प्रालि काठमाडौँले २ करोड ३३ लाख १३ हजार ६९३ रुपैयाँ ७७ पैसामा लिएको हो । 
२०७६ जेठ १६ गते ठेक्का सम्झौता गरेको टक्सार निर्माण सेवाले २०७७ जेठ १८ गते भवनको काम सक्नुपर्ने थियो । 
तर, टक्सारले पनि २५ महिनामा बल्ल काम सकेको हो । भवनको काम लगभग पूरा भइसकेको जनाइएको छ । ‘१ नम्बर प्रदेश प्रहरी कार्यालयबाट इन्जिनियरसहितको टोली भवन हेर्न आजै आउँदै हुनुहुन्छ,’ इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी नायव निरीक्षक (सई) नीराजन कटुवालले भने, ‘इन्जिनियरको टोलीले भवनको अनुगमन गरेपछि मात्र फाइनल हुन्छ ।’   
 
 

सम्बन्धित समाचार