झापामा कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १४ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दामा अदालते जन्मकैद फैसला सुनाएका एक अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका- ८ निवासी ३७ वर्षीय दिप्सन लावती रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले लावतीलाई बिहीबार सुरुंगाबाट पक्राउ गरेको हो ।
लावतीलाई झापा जिल्ला अदालतको २०६३ असोज ३ गतेको फैसला पुनरावेदन परी तत्कालीन पुनरावेदन अदालतबाट मिति २०६५ बैशाख १७ गते जन्मकैद हुने गरी फैसला भएको थियो । सो फैसला उपरसमेत पुनरावेदन परी सर्वोच्च अदालतबाट २०६५ फागुन २३ गते पुनरावेदन अदालतबाट भएको फैसला सदर भई जन्मकैद ठहर भएको थियो । पक्राउ परेका लावती एक वर्ष ७ महिना २४ दिन थुनामा बसिसकेको र १८ वर्ष ४ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी छ ।
अदालतको आदेश बमोजिम उनलाई कैद भुक्तानको लागि झापा कारागार भद्रपुर पठाइएको प्रहरी कार्यालय झापाले जनाएको छ ।