भद्रपुरकी शान्तिले खोलिन् भारतको सिलिगुडीमा स्किन ल्याब स्टुडियो
झापा भद्रपुर निवासी अग्रज पत्रकार, प्रजातान्त्रिक योद्धा स्व. एसएल शर्माकी छोरी शान्ति पारिकले भारतको सिलिगुडीमा विशेषज्ञ चिकित्सकहरूको सेवासहितको अत्याधुनिक एवम् सुविधा सम्पन्न स्किन ल्याब स्टुडियो सञ्चालनमा ल्याएकी छिन् ।
सिलिगुडीबाट नजिकै रहेको पूर्वी नेपालका सेवाग्राहीलाई समेत मध्यनजर गर्दै सिलिगुडीमा भारतकी प्रसिद्ध स्किन चिकित्सक डा. जमुना पाइको अगुवाइमा भारतका विभिन्न सहरमा स्थापना गरिएको डा. जमुना पाइ स्किन ल्याब स्टुडियो सञ्चालनमा आएको हो ।
भारतको मुम्बई, चेन्नई, पुणे, कोच्ची, हैदरावाद, बडौदाजस्ता ठुला सहरमा सफलतापूर्वक सञ्चालन भइरहेको डा. जमुना पाइ स्किन ल्याबको फ्रेञ्चाइजी आफूले लिएको सञ्चालक शान्ति पारिकले जानकारी दिइन् ।
सिलीगुडीको विशाल सिनेमा हलनजिकको जेपी टावरको दोस्रो तलामा उक्त फ्रेञ्चाइजी स्किन ल्याब स्टुडियोको हालै एक समारोहका बीच विधिवत् उद्घाटन गरिएको छ । डा. पाइले रिबन र केक काटेर उद्घाटन गरिएकी थिइन् ।
सो ल्याबबाट छालासम्बन्धी सबै प्रकारका समस्याको समाधान हुने सञ्चालक पारिकले बताइन् । उनका अनुसार ल्याबबाट मेडी फेशियल, एण्टी अक्सिडेन्ट थेरापी, लेजर ट्रिटमेण्टसहित स्किन ब्राइटनिङ र एण्टी एजिङको सुविधा सेवाग्राहीलाई हुनेछ । यसैगरी, ल्याबमा पिम्पल्स, अनावश्यक केश, चाउरीपनबाट छुटकाराजस्ता उपचार हुनेछ ।
ल्याबको उद्घाटन गर्दै डा. जमुना पाइले भनिन्,– ‘ग्राहकहरूलाई अत्याधुनिक टेक्नोलोजीमार्फत छालाको विभिन्न समस्याको उपचार गरी अनुहारको सौन्दर्य बढ़ाउनेछौं’, ‘यहाँ सेवा लिन आउने सेवाग्राहीले सन्तुष्टि प्राप्त गर्नुहुनेछ ।’
डा. जमुना भारतकी सर्वश्रेष्ठ छाला विशेषज्ञमध्ये एक हुन् । उनी फेमिना मिस इन्डियाकी आधिकारिक स्किन केयर सल्लाहकार पनि हुन् । मिस इन्डियामा सहभागी हुने प्रतियोगीहरूलाई विगत तीन दशकदेखि डा. जमुनाले नै ग्रउमिङ गर्दै आइरहेकी छन् ।