झापामा ६ वर्षीया बालिका बलात्कार गर्ने आरोपी पक्राउ
झापा । झापामा नाबालिकामाथि यौन हिंसा तथा दुर्व्यवहारको घटना बढ्दो छ । यसै क्रममा कनकाई नगरपालिकामा शुक्रबार मात्र ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । प्रहरीका अनुसार आरोपी पक्राउ परेका छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा बारा जिल्लाको पचरौता घर भई हाल कनकाई नगरपालिका ४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई शनिवार प्रहरीले पक्राउ गरेको छ ।
सामहम्दले ती बालिकालाई शुक्रबार दिउँसो अन्दाजी ३ बजेको समयमा बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा शनिवार साँझ ५ बजेतिर इलाका प्रहरी कार्यालय अनारमनिमा लिखित जाहेरी प्राप्त भएपछि प्रहरी खटिएको थियो । घटना र जाहेरीबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सामहम्दलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ भने घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।