२०८३ बैशाख २४ गते , विहीबार

बिर्तामोडमा अधिकांश पेट्रोल पम्पको शौचालय अव्यवस्थित, ७ दिनभित्र सुधार गर्न निर्देशन

sajilo news
झापा
२०७९ श्रावण १० गते , मंगलबार
बिर्तामोडमा अधिकांश पेट्रोल पम्पको शौचालय अव्यवस्थित, ७ दिनभित्र सुधार गर्न निर्देशन

बिर्तामोडमा रहेका अधिकांश पेट्रोल पम्पहरूमा शौचालय अव्यवस्थित रहेको पाइएको छ ।  बिर्तामोड नगरपालिकाले नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा मङ्गलवार गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । नगरपालिकाले बिर्तामोड क्षेत्र भित्र पर्ने पूर्व पश्चिम राजमार्ग छेउका १० वटा पेट्रोल पम्पहरूमा अनुगमन गरेको हो । 
जसमा वडा नम्बर ६ मा रहेको नवीन ट्रेड कन्र्सन, सुगम आयल ट्रेडर्स, वडा नम्बर ५ मा रहेको न्यु दुर्गा अटोमोवाइल्स, बोलबम आयल स्टोर, जय हनुमान ट्रेड कन्र्सन, वडा नम्बर ४ को गणेश अटोमोबाइल्स, वडा नम्बर १ को हनुमान पेट्रोलियम सप्लायर्स, लक्ष्मी आयल पम्प, वडा नम्बर २ को आश्मा ट्रेडर्स एन्ड सप्लायर्स र गौरव ट्रेड एन्ड सप्लायर्स रहेका छन् ।

यी मध्ये वडा नम्बर २ को आश्मा ट्रेडर्स एन्ड सप्लायर्स र वडा नम्बर १ मा रहेको लक्ष्मी आयल पम्पमा रहेका शौचालय राम्रो अवस्थामा रहेको पाइएको छ । आश्मा ट्रेडर्स एन्ड सप्लायर्स सबै मापदण्ड पुरा गरेर सञ्चालनमा रहेको र स्पष्ट देखिने गरी सार्वजनिक शौचालय लेखेर टाँसेको पाइएको छ । यस्तै लक्ष्मी आयल पम्पले पनि सबै मापदण्ड पुरा गरी शौचालय समेत अपाङ्गमैत्री निर्माण गरेको पाइएको छ । 
चारपानेमा रहेको लक्ष्मी आयल पम्प भने तत्कालका लागि बन्द अवस्थामा रहेको पाइएको छ ।  बाँकी रहेका अन्य पम्पहरूमा सार्वजनिक शौचालय लेखेको बोर्ड नटाँसिएको, महिला र पुरुष भनेर नछुट्टाएको, पानीको व्यवस्था नभएको, अव्यवस्थित र फोहोर रहेको, सर्वसाधारणले सहज रुपमा प्रयोग गर्ने गरी खुल्ला ठाउँमा नभएको पाइएको छ । पेट्रोल पम्पहरूले अनिवार्य रुपमा राख्नु पर्ने अग्नि नियन्त्रणका सामाग्रीहरू भने राखेका छन् । 

मापदण्ड अनुसार नरहेका पम्पहरूलाई ७ दिन भित्रमा सुधार गर्नका लागि निर्देशन दिएको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनु भयो । उहाँले अनुगमनका क्रममा दिएको म्याद भित्र सुधार भए नभएको बारेमा फेरि अनुगमन गर्ने जानकारी दिनु भयो । नगरपालिकाले सर्वसाधारण तथा यात्रुहरूको सहजताका लागि पेट्रोल पम्पहरूमा अनिवार्य रुपमा व्यवस्था गर्नु पर्ने सार्वजनिक शौचालयको निगरानी बढाएको हो ।

अनुगमन टोलीमा नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला, वडा नम्बर १का वडाध्यक्ष तथा नगरका प्रवक्ता अग्निप्रसाद पाण्डे, वडा नम्बर ३का वडाध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४का वडाध्यक्ष राहुल शर्मा, वडा नम्बर ५का वडाध्यक्ष रोहित प्रसाईँ, वडा नम्बर ६का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्गवा र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार