बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन भद्रपुर नगरपालिका र रेडक्रसबीच सम्झौता
भद्रपुर नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ। रगत आवश्यक पर्ने नगरका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन भद्रपुर नगरपालिका कार्यालय र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका वीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालका बीच भएको सम्झौतामा रगत आवश्यक पर्ने नगरवासीलाई रेडक्रसद्वारा सञ्चालित रक्त सञ्चार सेवा झापाबाट रगत उपलब्ध गराइने छ। यो सम्झौता लागू भइसकेको जनाइएको छ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले निर्वाचनमा उम्मेदवार हुँदाका बखत गरेको चुनावी प्रतिबद्धता र नगर पालिकाको नीति तथा कार्यक्रममा उल्लेख भएको 'मेयर स्वास्थ्य सहायता कार्यक्रम' अन्तरगत नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको बताए
निःशुल्क रगत पाउनका लागि आफू नगरवासी भएको प्रमाण स्वरूप यसै नगरको भनेर प्रमाण खुल्ने नागरिकता, मतदाता परिचयपत्र, सवारी चालक अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्ने सम्झौतामा उल्लेख छ।