भद्रपुरका अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सामग्री वितरण
भद्रपुर । भद्रपुरका अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक विभिन्न सामग्री वितरण गरिएको छ। भद्रपुर नगरपालिका र सहारा नेपालको सहयोगमा उपलब्ध सामग्रीहरू भद्रपुरका दुई सय जनालाई नगरपालिकामा आइतबार आयोजित एक संक्षिप्त कार्यक्रमका बीच वितरण गरिएको हो।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र नगर पालिका स्वास्थ्य शाखाका प्रमुख शान्तिराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सुस्त श्रवण भएका, दृष्टिविहीन र शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई इअर मेट्रेस, सेतो छडी तथा सहायक सामग्रीहरू ह्वील चेयर, कमोट चेयर, सेनेटरी प्याड, डाइपर जस्ता सामग्री प्रदान गरिएको हो। भद्रपुरमै सञ्चालनमा रहेको हेरचाहका लागि उत्प्रेरणा ‘आइ २ सी’ को संयोजनमा भएको कार्यक्रममा अपाङ्गता भएका विद्यालय जाने छात्र छात्रालाई शैक्षिक सामग्रीहरू स्कुल ब्याग, कपि र कलम तथा पोषण सामग्रीको प्याकेट र सहारा नेपालको सहयोगमा प्राप्त झुल वितरण गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल र उपप्रमुख राधा कार्कीले वितरण गरिएको सामग्रीको सही प्रयोगबाट शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको दिनचर्या सहज हुने विश्वास व्यक्त गरेका छन् । हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम ‘आइ २सी’का प्रतिनिधि नरेन्द्र प्रधानले सञ्चालन सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्यकर्मी नेत्रप्रसाद दाहालले गरेका थिए, भने कार्यक्रममा कञ्चनजङ्घा अपाङ्ग कल्याण समितिका अध्यक्ष कृष्णप्रसाद गेलालले दोभासेको सञ्चालन गरेका थिए ।
कार्यक्रममा १, ७ र ९ नम्बर वडाका वडाध्यक्ष सहित प्रमुख प्रशासकीय अधिकृत, नेपाल अपाङ्ग सङ्घका केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठ लगायत अपाङ्ग सङ्घका झापा अध्यक्ष लगायतको सहभागिता थियो।