महालेखाले भन्यो- 'कोटीहोम पीसीआर प्रयोगशालाको आम्दानी खर्च छानबिन गर्नुपर्छ'
झापाको कोटीहोम पीसीआर प्रयोगशालाको आम्दानी खर्च छानबिन गर्न निर्देशन दिइएको छ । महालेखा परीक्षक कार्यालयको हालै सार्वजनिक ५९ औं वार्षिक प्रतिवेदनमा कोटीहोम पीसीआर प्रयोगशालाले आम्दानीको कुनै रकम मेची अस्पताल भद्रपुरलाई नदिएकोले छानबिन गर्न उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ, स्वास्थ्य
तथा जनसङ्ख्या मन्त्रालयको २०७७ असार १० को प्रयोगशाला सञ्चालनसम्बन्धी निर्णयमा मेची अस्पतालमा ९कोभिड १९० परीक्षण प्रयोगशाला अनुमति दिएको छ। कोभिड १९ को दोश्चो लहर प्रारम्भपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको २०७७ भदौ १९ को पीसीआर परीक्षण अनुमति सम्बन्धी पत्राचारमा मेची अञ्चल अस्पतालअन्तर्गतको सेवा कनकाई पीसीआर प्रयोगशालामा मेची अस्पतालको जनशक्तिबाट सेवा उपलब्ध हुने गरी तोकिएको छ । सो प्रयोगशालाबाट भएको
आम्दानी मेची अस्पतालले प्राप्त गरेको छैन । परीक्षणको क्रममा कोटीहोम पीसीआर प्रयोगशालाबाट २०७७ भाद्रदेखि २०७८ असार मसान्तसम्म २५ हजार ९७६ नमुना परीक्षण गरिएको जानकारी दिएको छ । प्रति नमुना एक हजारको दरले शुल्क लिने व्यवस्थाको आधारमा २ करोड ५९ लाख ७६ हजार आम्दानी हुने अवस्था रहेको भएता पनि मेची अस्पताललाई कुनै रकम प्राप्त भएको नदेखिएकोले प्रयोगशालाको आम्दानी खर्च सम्बन्धमा छानबिन गरी अस्पतालले पाउने रकम यकिन गरी असुल हुनुपर्दछ ।