भद्रपुरमा दूषित पानी वितरण, फोहोर पानी पिउँदा बिरामी बढे
भद्रपुरमा खानेपानीको धाराबाट फोहर पानी आउने थालेको छ । भद्रपुर – ८ सगरमाथास्थित नेपाल खानेपानी संस्थानले उपभोक्ताहरूलाई दूषित फोहोर मैलायुक्त पानी वितरण गरिरहेको छ ।
परीक्षण नगरी सामान्य आँखाले हेर्दा नै फोहोर पानी धाराबाट आउने गरेको स्थानीय उपभोक्ताले संस्थानको भद्रपुर कार्यालयमा जानकारी गराउँदा पनि सुनुवाइ नभएको उपभोक्ताहरूले गुनासो पटक पटक गरेका छन्।
भद्रपुर – ८ कै प्राज्ञ टोलका केही घरमा धाराबाट दूषित पानी वितरण भयो भनेर स्थानीय उपभोक्ता रिमा पाण्डेले गुनासो गरे पनि त्यसप्रति संस्थान गम्भीर नभएको उनले आरोप लगाएका छन् ।
दूषित र सादा आँखाले हेर्दा नै मैलो धमिलो पानी धाराबाट आए पछि त्यो पानी महिनौँ अघिदेखि खान पिउन छोडेर सम्बन्धित निकायमा जानकारी गराएर ट्युबवेलको पानी फिल्टर गरेर खान बाध्य भएका छौँ, उनले भने । भद्रपुरमा वितरण भएको पानीको बारेमा सामाजिक सञ्जालमा पनि विभिन्न टिका टिप्पणीहरू भइरहेको छ ।
भद्रपुरका मोहित शर्मा, तारा मैनाली, राजा मण्डल लगायत सचेत नागरिकले सम्बन्धित कार्यालय र त्यहाँका जिम्मेवार व्यक्तिको आँखा खुलोस् भनेर धाराबाट आएको मैलो, धमिलो र दूषित पानी नै धाराबाट खसेको सार्वजनिक गर्दै फेसबुकमा पोस्ट गरेका छन् । तर, त्यसको समाधान तर्फ उनीहरूले चासो नदिएको गुनासो यथावत् छ।
यता मौसम परिवर्तन र असाधारण गर्मी अनि छिन् छिनमा आउने झरीका बीच दूषित पानीको सेवनले गर्दा बालबच्चाहरू बिरामी पर्ने क्रम बढेको छ। अहिले स्थानीय अस्पतालमा बिरामी बच्चाको चाप बढेको छ। बच्चाहरूमा रूखा खोकी र उच्च ज्वरोका संक्रमण देखिएकोले बच्चा राख्ने बेडनै भरिएको त्यहाँका बाल रोग चिकित्सक रविन रेग्मीले जानकारी दिए ।
भद्रपुरमा बच्चा बिरामी बढ्नुको कारण दूषित पानी नै रहेको भनेर उपभोक्ताले खानेपानी माथि आक्षेप लगाउँदासम्म पनि जनप्रतिनिधि किन गम्भीर नभएको भनेर उपभोक्ता पाण्डेले खानेपानी जस्तो संवेदनशील विषयमा भएको लापरबाहीप्रति गम्भीर बन्न आक्रोशपूर्ण चेतावनी दिएका छन् ।