प्रेमिका प्रयोग गरेर साथीकी छोरी अपहरण गर्ने पक्राउ
मोरङको बूढीगंगा गाउँपालिका १ का दीपेन यादवकी एक वर्षीया छोरी निकिशा यादवको अपहरण उनकै साथीको योजनामा भएको खुलेको छ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका-६ रामपुरका २७ वर्षीय रवीन्द्रकुमार साहले आफ्नी प्रेमिका विराटनगर-५ की २७ वर्षीया अनु साहलाई प्रयोग गरेर दीपेनकी नाबालिका छोरी निकिशालाई अपहरण गरेका हुन्।
दीपेन र रवीन्द्र पुराना साथी रहेको प्रहरीले जनाएको छ। दीपेनको घरनजिक रवीन्द्रको श्रीराम ट्रेडर्स नामको पसल छ। बाबु दीपेनकै कारमा रहेकी निकिशा गत सोमबार बिहान ९ बजेतिर विराटनगर-१२ रोडशेष चोकबाट अपहरणमा परेकी थिइन्।
अपहरणपछि भारतको दरभंगामा लगेर दुई दिनसम्म लुकाएर राखिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।
उनका अनुसार फिरौती माग्ने योजना बनाएर बालिकाको अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अपहरणमा संलग्न रवीन्द्र र अनुलाई पक्राउ गरेर प्रहरीले बुधबार सार्वजनिक गरेको छ।
'निकिशालाई अपहरण गरेर बुवा दीपेन तथा हजुरबुवा दीपक यादवसँग १०/१५ लाख रूपैयाँजति फिरौती माग्ने योजना बनाइएको पाइयो,' एसपी कोइरालाले भने, 'घटनाका मुख्य योजनाकार रवीन्द्र हुन्।'
रवीन्द्र र अनुबीच दुई/तीन वर्षअघिदेखि प्रेम सम्बन्ध रहेको प्रहरीले जनाएको छ। फिरौती माग्नका लागि रवीन्द्रले प्रेमिका अनुलाई बालिकाको अपहरणमा प्रयोग गरेको कोइरालाले बताए।
उनका अनुसार सानैदेखिको साथी भएकाले दीपेनको पारिवारिक आर्थिक अवस्था मजवुत रहेको रवीन्द्रलाई थाहा थियो। आर्थिक रूपले सम्पन्न रहेका अभिभावकसँग 'बार्गेनिङ' गरेर पैसा लिनका लागि निकिशाको अपहरण गरिएको उनले बताए। त्यसका लागि रवीन्द्रले अनुलाई प्रयोग गरेका हुन्।