२०८३ बैशाख २४ गते , विहीबार

झापामा फेरि बढ्यो कोरोना, बुस्टर डोज लगाउन र भिडभाडमा नजान प्रशासनको आग्रह

sajilo news
पार्थ मण्डल
२०७९ श्रावण २ गते , सोमबार
झापामा फेरि बढ्यो कोरोना, बुस्टर डोज लगाउन र भिडभाडमा नजान प्रशासनको आग्रह

झापा । झापा जिल्लामा फेरि (कोभिड–१९) कोरोना भाइरस संक्रमण बढ्न थालेको छ ।  छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमित बढेसँगै त्यसको असर सीमा नाकासँग जोडिएको झापामा देखा पर्न थालेको हो । जिल्लामा सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी)ले झापाबासीलाई अलर्टमा रहन निर्देशन दिएको छ । 
जिल्ला प्रशासन कार्यालय झापामा सोमबार बसेको डिसिएमसीको बैठकले मेचीनगर नगरपालिका–१४ ढुवागढीस्थित हँडिया खोलानजिकै २८ करोड २६ लाख ८७ हजार ४ सय ६४ रुपैयाँको लागतमा निर्माणाधीन अवस्थामा रहेको एक हजार जना क्षमताको होल्डिङ सेन्टरमा तत्काल नेपाली सेनाले १०० बेड तयारी अवस्थामा राख्न, काँकडभिट्टास्थित प्रवेश नाकामा मेचीनगर नगरपालिका, इडीसिडी, आइएमओ र रेडक्रस सोसाइटी झापा शाखाले आपसमा समन्वय गरी कोरोना परीक्षणलाई प्रभावकारी बनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

त्यस्तै स्वास्थ्य कार्यालयले कोरोना संक्रमणको वर्तमान अवस्थाको विश्लेषण गरी जिल्लामा आवश्यक पर्ने औषधि, मास्क, परीक्षण गर्ने किट, भिटिएस लगायतका अन्य सामग्रीहरूको मौज्दात व्यवस्थापन गर्ने, गराउन अनुरोध गर्ने, स्वास्थ्य कार्यालयको संयोजनमा जिल्लाका सबै स्थानीय तहमा कोरोनाविरुद्धको बुस्टर खोप लगाउन बाँकी सबैलाई अनुरोध गर्ने, कोरोना संक्रमणदर बढिरहेकोले मास्क लगाएर मात्र हिँड्न, काम नपरी भिडभाडमा नजान, संक्रमणको शङ्का भएमा स्वास्थ्य संस्थामा गई परीक्षण गर्न सबैमा अनुरोध गर्ने र सबै स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्य कार्यालय, रेडक्रस लगायत गैर सरकारी सङ्घसंस्थाहरूले कोरोना संक्रमणविरुद्ध सचेतना अभिवृद्धि गर्ने निर्णय गरिएको प्रजिअ रिजालले बताए ।  
यता स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अनुसार गत असार १९ गतेसम्म जिल्लामा कोरोना संक्रमित सङ्ख्या शून्यमा झरेको थियो । असार २० गतेदेखि साउन २ गतेसम्म जिल्लामा ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्यको तथ्याङ्कले देखाउँछ । सोमबार ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले बताए । 
सबै भन्दा बढी साउन १ गते १७ जनामा संक्रमण पुष्टि भएको छ । असार ३१ गते १५ जना, असार ३० गते १६ जना, असार २९ र २८ गते ५/५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख घिमिरेले बताए । त्यसमध्ये अधिकांश भारतबाट नेपाल प्रवेश गर्नेहरूमा संक्रमण देखा परेको उनले बताए ।
a

सम्बन्धित समाचार