भद्रपुरका क्यान्सर पीडित घिमिरेलाई एक लाख एक हजार प्रदान
भद्रपुर नगरपालिका–१० का क्यान्सर पीडित पुण्यप्रसाद घिमिरेलाई रकम प्रदान गरिएको छ । पेटको क्यान्सरबाट पीडित उनलाई सहयोग गर्ने उद्देश्यले विभिन्न सहयोगीदाताहरूबाट सङ्कलित एक लाख एक हजार रुपैयाँ प्रदान गरिएको नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटी शिवकुमार राजभण्डारीले जानकारी दिए। आर्थिक अवस्था कमजोर भएका उनलाई सहयोग गर्ने उद्देश्यले सामाजिक युवा अभियन्ताहरू सञ्जय भुइमाली, भावना क्षेत्री, मदन राई लगायतले विशेष सहयोग गरेका छन् ।
आइतबार एक कार्यक्रमका बीच क्यान्सर पीडित घिमिरेलाई भद्रपुर नगरपालिका मेयर गणेश पोखरेल, उपमेयर राधा कार्की लगायतले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए । सवारी चालक पेसा गर्दै आएका घिमिरेलाई हालसम्म ३ पटक केमो दिएको छ । उनको स्वास्थ्यमा क्रमशः सुधार आए पनि थप सहयोगको आवश्यकता रहेको छ । पारिवारिक आर्थिक अवस्था कमजोर रहेको उनलाई सहयोग गर्न अपिल गरिएको छ ।
यसैबीच, दुवै मिर्गौला बिग्रिएर अस्पतालको शय्यामा थलिनु भएका भद्रपुर–५ बसपार्कका विशेष राजवंशीका सहयोग सङ्कलन अभियान सुरु गरिएको भण्डारीले बताए । मेची अस्पतालमा उपचाररत उनको उपचारका लागि आफूले चार हजार रुपैयाँ सहयोग गरेर अभियानको थालनी गरिएको उनको भनाइ छ ।